Skip to content

Extra Shots: बालेन रवि भेटमा देखिएका अचम्मका ५ दृश्य, युट्युबरको डलर आशादेखि ‘एमालेका झोले’को तमासासम्म

पूजा आचार्य

२ घण्टा अगाडि

नेपाली राजनीतिमा सबैभन्दा बढी हट इस्यु केहि छ भने, त्यो हो बालेनको सक्रियता । जता जता छन् बालेन, त्यतै घुमिरहेका छन् अरु दलका नेता, कार्यकर्ता पनि । अनि जता जता बालेनको मुभ, त्यतै त्यतै राजनीतिको सुई ।

बिहिबार पनि त्यस्तै भयो । बालेन र रास्वपा सभापति रवि लामिछानेबीच कुमार बेनको घरमा वार्ता हुँदै गर्दा देशभरका राजनीतिक दलका नेता कार्यकर्ताको ध्यान त्यतै तिर सोझियो । बालेनसँग भेट सकेर रवि मुस्कुराउँदै निस्किए । प्राय: मिडियाकर्मीसँग केहि मिनेट मज्जाले बोल्ने रविले छोटोमात्र प्रतिक्रिया दिए ।

पत्रकारले लौरो टेक्ने कि घन्टी बजाउने भनेर सोध्दा उनले वार्ता राम्रै भयो, बाँकी समयले बताउला भनेर जवाफ दिए । उनीहरुबीच के भयो, त्यसको नतिजा केहि दिनमा देखिएला नै । आज भने चर्चा गरौँ, रवि बालेन बीच वार्ता हुँदा देखिएका केहि अचम्मका दृश्यबारे ।

१. रवि बालेन वार्ता हुँदा बाहिर सुधन गुरुङ बसिरहेका थिए । उनले सामाजिक संजालमा आफुले रवि र बालेनलाई भित्रै थुन्ने गरी ताला लगाईदिएको र सहमति भए पछि मात्र गेट खोल्ने बताईरहेका थिए । तर रवि जव निस्किए, उनको ताला कसले खोलिदियो थाहा नै भएन ।

२. रवि-बालेन वार्ता हुँदै गर्दा फिल्म मेकर अर्जुन घिमिरे पाँडे आफ्नो फिल्मको प्रचार सामाग्री पुगेर त्यहाँ पुगेका थिए । भीडभाड र मिडिया कभरेजको लोभमा उनले राजनीतिक महत्वको वार्तालाई पनि अलि अलि रमाइलो, अलि अलि मजाक बनाईदिए ।

३. रवि बालेनको वार्ता हुँदै गर्दा नेकपा एमालेको झोले बनेको आरोप लागेका कमेडियन कार्यक्रमका होष्ट बिशाल भण्डारी पनि वार्ता स्थल पुगेका थिए । जवकी बालेनको सबै भन्दा बढी विरोध गर्ने कि त केपी ओली हुन्, कि त उनै भण्डारी हुन् ।

४. रवि बालेनबीच वार्ता हुँदै गर्दा नेता कार्यकर्ता भन्दा बढी मिडियाकर्मी र युट्युबरको भीड ठुलो थियो वार्ता स्थलमा । मिडिया र युट्युबरले राम्रै कन्टेन्ट पनि भेटे । तर रवि धेरै नबोल्दा उनीहरुले कमाउने डलर कम हुने देखियो ।

५. रवि बालेन वार्ता हुनु अघि बालेनसँग कांग्रेस नेता डा. सुनिल शर्मा पनि पुगेका थिए । उनलाई पत्रकारले तपाईं कांग्रेस छोडेर अव यता आउने हो ? भनेर सोधे । उनले कहाँ त्यस्तो हुनु, अव केहि बर्ष पछि आफु काँग्रेसको सभापति हो भनिदिए । उनले संसद पुनर्स्थापनाका विषयमा बालेनसंग कुरा भएकोसमेत बताए ।

देशको राजनीति अहिले बालेनमय बनेको छ । जताततै बालेनको चर्चा छ । बालेन-रवि मिल्ने देखि बालेनले देश बिकास पार्टीका नाममा चुनावमा होमिने चर्चासमेत छ । बालेनको टिमले समानुपातिक सूचीसमेत बनाईसक्यो भन्ने चर्चा पनि छ। जे होस्, देशमा बुडाहरुको राजनीतिक युग उत्तरार्द्धमा आइपुगेको भान धेरैलाई भएको छ । कि त लौरो टेकेर, कि त घण्टी बजाएर देशले निकास पाउने आशा गर्ने ठाउँ देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्