Skip to content

‘ओलीज्यूले सुरक्षाको वातावरण बनाउनुपर्ने कुरा गर्नुभएको छ’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल ओली निवास गुण्डु पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सरकार राजनीतिक दलहरूसँग तीव्र रूपमा वार्ता गरिरहेको बताए । औपचारिक रूपमा निर्वाचनको वातावरण निर्माण गर्न र नेकपा एमालेलाई निर्वाचनमा सहभागिताका लागि थप उत्साहित गर्न आफू ओली निवास पुगेको उनले बताए ।

मन्त्री खरेलले नेकपा एमालेले निर्वाचनको विरोध नगरेको र निर्वाचनमा सहभागी हुने कुरा स्पष्ट गरिसकेको उल्लेख गरे । ‘नेकपा एमालेले निर्वाचनबाट नभाग्ने र स्वीकार गर्ने भनिसकेको छ । हामीले ढुक्कसँग निर्वाचनमा भाग लिन आग्रह गरेका छौँ,’ उनले भने ।

उनका अनुसार भेटवार्तामा फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा छलफल भएको र चुनावमा जाने विषयमा एमालेको कुनै असहमति नरहेको कुरा उठेको थियो । तर एमाले अध्यक्ष ओलीले निर्वाचन सुरक्षाको विषयमा प्रश्न उठाएको मन्त्री खरेलले जानकारी दिए ।

मन्त्री खरेलले सरकारको तर्फबाट निर्वाचनका लागि आवश्यक वातावरण बनेको र भोट माग्ने तथा भोट हाल्ने प्रक्रिया सुरक्षित रूपमा सम्पन्न हुने विषयमा आश्वस्त पारिएको बताए ।

सरकारले लगाएको स्थान हदबारे ओलीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खरेलले भने, ‘ओलीज्यूले सुरक्षाको वातावरण बनाउनुपर्ने कुरा गर्नुभएको छ । सरकारको लक्ष्य नै निर्वाचन हो । यो लक्ष्य प्राप्तिका क्रममा कुनै अल्झन, अप्ठ्यारा वा चुनौती छन् भने तिनलाई सहज बनाउँदै निर्वाचनको गन्तव्यमा पुग्ने गरी सरकारले आवश्यक वातावरण बनाउँछ र बनाएरै अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्