Skip to content

अनुदानको मल वितरणमा पारदर्शिता ल्याउन डिजिटल प्रणाली सुरु

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा उपलब्ध गराइने रासायनिक मलको वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ।

मन्त्रालयका अनुसार, यो प्रणालीले मल आयात, मौज्दात ९स्टक० र बिक्री–वितरणको अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने सुविधा प्रदान गर्छ। यसबाट बजारमा विक्रेताले गर्ने पक्षपात, तोकिएको भन्दा बढी मूल्य लिने र अनधिकृत व्यक्तिलाई मल वितरणजस्ता समस्याहरू कम हुने अपेक्षा गरिएको छ।

सर्वसाधारण र किसानले मन्त्रालयको आधिकारिक https://www.moald.gov.np/ 
वा http://fms.moald.gov.np/
मार्फत आफ्नो स्थानीय तह छानेर मलको स्टक र बिक्री विवरण प्रत्यक्ष हेर्न सक्नेछन्।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार, सहकारी र फर्महरूले मलको स्टक र बिक्रीसम्बन्धी विवरण अनिवार्य रूपमा नियमित प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। विवरण प्रविष्ट भएपछि मात्र प्रणालीमा देखिने भएकाले यस कार्यमा विक्रेताको जिम्मेवारी सुनिश्चित गरिएको छ।

मन्त्रालयले किसानहरूलाई पनि यो डिजिटल प्रणालीको पूर्ण उपयोग गर्न र मल वितरणलाई पारदर्शी बनाउने सरकारको प्रयासमा सहयोग गर्न आह्वान गरेको छ। यस प्रणालीले कालोबजारी र पहुँचवालाको दबदबा कम गर्दै वास्तविक किसानले समयमै मल पाउने सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्