Skip to content

वर्तमान सरकारले चित्रकारको स्वास्थ्य अवस्थाबारे चासो नदेखाएको पूर्व प्रधानमन्त्री खनालको गुनासो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको छ। भारतमा करिब तीन महिनासम्म उपचार गराएपछि उनी हाल स्वदेश फर्किएर आफ्नै निवासमा आराम गरिरहेकी छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी गरिएको थियो। सो घटनामा चित्रकार गम्भीर रूपमा घाइते भएकी थिइन्। आगलागीका कारण उनको हातमा गम्भीर चोट लागेको थियो भने श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो।

चित्रकारले जेनजी आन्दोलनको नाममा बाह्य शक्तिले आफू मात्र होइन, सिंगो देशमाथि आक्रमण गरेको दाबी गरिन्। राजनीतिमा संलग्न होस् वा राजनीतिबाट टाढा रहेकाहरू, कसैमाथि पनि यस्तो किसिमको आक्रमण हुनु जंगली प्रवृत्ति भएको उनको भनाइ छ।

उनले भनिन्, “जेनजी आन्दोलन त निउ मात्रै हो। वास्तविक जेनजी यति अमानवीय हुँदैनन्। जेनजीको नाम प्रयोग गरेर अरूले खेल खेले। यो नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र हो।”

घटनाको स्मरण गर्दै उनले आक्रमणको बेला आफू किचन नजिकै रहेको बताइन्। “एक्कासी बाहिरबाट ढुंगा हानियो। चारैतिरबाट ढुंगा आउन थालेपछि हामी छलेर बसिरहेका थियौँ। केही क्षणमै धुवाँको मुस्लो आयो। मुस्लो अत्यन्तै तातो थियो, सास फेर्न गाह्रो भयो। झ्यालतिर दौडिँदै गर्दा त्यहाँ पुग्न नपाउँदै म ढलेछु, त्यसपछि के भयो थाहा भएन,” उनले भनिन्।

चित्रकारले आफूहरूलाई आक्रमण हुन सक्ने कुनै पूर्वसूचना नपाएको पनि बताइन्। “आक्रमण हुँदैछ भन्ने कुनै जानकारी थिएन। थाहा भएको भए यस्तो अवस्था आउँदैनथ्यो,” उनको भनाइ छ।

यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले चित्रकारको स्वास्थ्य अवस्थाबारे चासो नदेखाएको भन्दै गुनासो व्यक्त गरेका छन्। उनले सरकारमा सामान्य विवेक र मानवीयता नदेखिएको आरोप लगाए।

“चित्रकार भदौ २४ को घटनामा घाइते हुन् कि होइनन्, सरकारलाई थाहा छ ? उपचार आवश्यक छ कि छैन भनेर चासो लिइएन,” उनले प्रश्न गरे। “पूर्वप्रधानमन्त्रीले आफैँ उपचार गर्नुपर्छ र सरकारको कुनै जिम्मेवारी हुँदैन ?”

खनालले आक्रमणमा संलग्न व्यक्तिहरूलाई देशका शत्रु र अपराधीको संज्ञा दिँदै कडा कारबाहीको मागसमेत गरे। “निर्दोष नागरिकमाथि निर्मम आक्रमण गर्ने ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न सारा नेपालीको हो,” उनले भने।

श्रीमतीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै खनालले हाल अवस्था स्थिर भए पनि पूर्ण रूपमा निको हुन अझै समय लाग्ने बताए। “साढे तीन महिनासम्म उपचार गराएर ल्याएको हुँ। अवस्था ठीकै छ तर एउटा हात गुमाउनु परेको छ। अर्को हात पनि अझै चल्न सकेको छैन। हरेक दिन ज्वरो आउने र संक्रमणको डर रहने गरेको छ,” उनले भने।

उनका अनुसार दुवै हात नचल्दा शारीरिक पीडासँगै मानसिक आघात पनि गहिरो रहेको छ र निरन्तर थेरापीमार्फत सुधारको प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्