Skip to content

सन् २०२६मा गाजाको एउटै कामना: युद्धको अन्त्य र जीवनको पुनर्जागरण

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ विश्व समुदायले सन् २०२६ को स्वागत गरिरहँदा, लामो समयदेखि युद्धको चपेटामा परेको गाजा क्षेत्रका प्यालेस्टाइनीहरू भने शान्ति पुनःस्थापना र जीवनको नवनिर्माणको व्यग्र प्रतीक्षामा छन्। द्वन्द्व र अस्थिरताबीच यहाँका नागरिकहरूले नयाँ वर्षलाई केवल क्यालेन्डरको पाना फेरिने क्षणका रूपमा होइन, युद्धविराम र मानवीय गरिमा पुनः प्राप्त हुने आशाको अवसरका रूपमा हेरेका छन्।

दशकौँदेखि युद्धको विभीषिका र अकल्पनीय पीडा भोग्दै आएका स्थानीय बासिन्दाहरूको मुख्य चाहना गाजा र वेस्ट बैंकमा जारी हिंसाको अन्त्य हो। उनीहरूको बुझाइमा, जबसम्म युद्ध जारी रहन्छ, तबसम्म जीवनको अर्थ रहँदैन। तर बन्दुकका नालहरू शान्त भएमा जीवन फेरि सुन्दर बन्न सक्ने विश्वास उनीहरूमा छ। त्यसैले सन् २०२६ मा यस भूमिमा पूर्ण शान्ति र सुरक्षाको प्रत्याभूति होस् भन्ने साझा कामना सडकदेखि शरणार्थी शिविरसम्म गुञ्जिरहेको छ।

नागरिकहरू भयमुक्त वातावरणमा सास फेर्न र ‘सुरक्षा’ शब्दको वास्तविक अनुभूति गर्न चाहन्छन्। युद्धले ध्वस्त पारेको अर्थतन्त्र र दैनिक जनजीवनलाई सामान्य अवस्थामा फर्काउनु उनीहरूको अर्को प्रमुख अपेक्षा बनेको छ। स्थानीय बासिन्दाहरू अनियन्त्रित महँगी नियन्त्रणमा आओस् र बजार मूल्य युद्धअघिकै अवस्थामा फर्कियोस् भन्ने चाहना व्यक्त गर्छन्।

विश्वका अन्य मुलुकका नागरिकसरह निर्धक्क बजार पुगेर दैनिक आवश्यकताका सामान खरिद गर्न पाउने सामान्य अधिकारको खोजीमा उनीहरू छन्।यसका साथै, गुमेका रोजगारीहरू पुनः सिर्जना होऊन्, मानिसहरू काममा फर्किउन् र गाजा फेरि स्थिर अर्थतन्त्र भएको क्षेत्रका रूपमा उभियोस् भन्ने आकांक्षा पनि उत्तिकै बलियो देखिन्छ।

पीडितहरू सन् २०२३ अक्टोबर ७ अघिको अवस्थाजस्तै जीवन फर्कियोस् भन्ने गहिरो अभिलाषासहित भत्किएका संरचनाहरूको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा गरिरहेका छन्।खुला आकाशमुनि आश्रयविहीन जीवन बिताउनुपर्ने बाध्यताको अन्त्य गर्दै ध्वस्त घर, अस्पताल र स्वास्थ्य सेवा पुनः सञ्चालनमा आउनुपर्नेमा उनीहरूको जोड छ। विशेषगरी बालबालिकाहरू पुनः विद्यालय जान पाऊन् र उनीहरूको शैक्षिक भविष्य सुरक्षित होस् भन्ने अभिभावकहरूको हृदयस्पर्शी चाहना स्पष्ट देखिन्छ।

युद्धका भयावह दृश्य र निरन्तर त्रासका बाबजुद पनि गाजाका नागरिकहरू आफ्नो देश छोडेर पलायन हुन चाहँदैनन्। उनीहरू आफ्नै माटोमा पुनःस्थापित भई शान्ति, सुरक्षा र भरोसाको वातावरणमा जीवन बिताउन चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्