काठमाडौं । भेनेजुएलाको उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उनलाई उक्त जिम्मेवारी दिइएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक भएको निर्णय गरेको जनाएको छ ।
अमेरिकाले शनिबार भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार गठन नहुन्जेलसम्म अमेरिका नै अस्थायी रूपमा सरकार सञ्चालनमा संलग्न हुने अभिव्यक्ति दिएका छन् ।
को हुन् डेल्सी रोड्रिगेज
डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा भेनेजुएलाको राजधानी काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए । उनले सन् १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।
कानून विषयमा स्नातक गरेकी रोड्रिगेज पेशाले अधिवक्ता पनि हुन् । उनी लामो समयदेखि राष्ट्रपति मादुरोको निकट सहयोगीका रूपमा चिनिन्छिन् । यसअघि उनले पूर्वराष्ट्रपति ह्युगो चावेजको समर्थनमा समेत काम गरेकी थिइन् ।
रोड्रिगेजले सन् २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री तथा २०१७ मा सरकार समर्थक संविधान सभाको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् ।
सन् २०१८ जुनमा उनी भेनेजुएलाको उपराष्ट्रपति नियुक्त भइन् ।
सन् २०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो । अमेरिकी प्रतिबन्धका बीच भेनेजुएलाको ऊर्जा क्षेत्र सञ्चालनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी मानिन्छिन् ।
उपराष्ट्रपतिको रूपमा उनले आर्थिक नीतिहरूको समन्वय गर्दै देशको चरम महँगी नियन्त्रण गर्न प्रयास गरेकी थिइन् । धेरैले उनलाई मादुरोको विश्वासपात्र सहयोगी र सरकारको कडा समर्थकका रूपमा हेर्ने गर्छन् ।
अमेरिकाले मादुरोलाई नियन्त्रणमा लिएपछि रोड्रिगेजले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै मादुरोको अवस्था सार्वजनिक गर्न र तत्काल रिहाइको माग गरेकी छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्