Skip to content

नाउपा नेतृत्वसँग असहमति, रुपन्देहीका अध्यक्षसहित ३३ जनाले दिए सामुहिक राजीनामा

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारुसहित ३३ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

जिल्ला अध्यक्ष थारुका अनुसार, पार्टी नेतृत्व, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति देखिएपछि यस्तो कदम उठाइएको हो। राजीनामा दिनेहरूमा जिल्ला अध्यक्ष थारु, वरिष्ठ उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन्।

थारुले भने, “पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत अघि बढेको महसुस भएपछि हामीले सम्पूर्ण जिम्मेवारीसँगै साधारण सदस्यबाट समेत राजीनामा दिएका हौं।”

राजीनामा दिएका पूर्व पदाधिकारीहरूले भोलि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारी गरिरहेका छन्। यससँगै थरुहट थारुवान संयुक्त संघर्ष समिति समेत रास्वपामा समाहित हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्