Skip to content

नवयुवा शहीद परिवार कल्याणकारी समाजलाई अनुदान दिने सरकारकाे निर्णय

कालोपाटी

५ दिन अगाडि

काठमाडौँ – सरकारले नवयुवा शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवयुवा शहीद परिवारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान दिने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गरेको छ। यस्तै नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयू) पनि मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ।

बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२ स्वीकृत गरेको छ। साथै वन तेस्रो संशोधन नियमावली–२०८२ पनि मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ।

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गरिएको छ।

यसैगरी, समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्