काठमाडौँ । निर्वाचन आउन अब ५८ दिन बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। सूचना प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण सामग्री नियन्त्रण गर्न विशेष संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिम गठन गरिएको केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले निर्वाचनका समयमा डिजिटल माध्यमबाट देखिने चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको हो।
निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा जानकीकुमारी तुलाधरसहित समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
बैठकमा आचारसंहिताको प्रभावकारी परिपालना र कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्य, प्रचलित कानुनले तोकेका नियामक निकायको भूमिका, कार्यान्वयनका चुनौती तथा नियन्त्रणका उपायबारे विस्तृत छलफल भएको थियो। सहभागी सदस्यहरूले सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक उपायलाई एकसाथ अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सामाजिक सञ्जाल नियमन अत्यन्तै महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै आयोगले उपलब्ध सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले प्रविधिको दुरुपयोग रोक्न नियामक, अनुसन्धान तथा अभियोजन गर्ने निकायसँगको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
आयुक्त डा तुलाधरले राजनीतिक दलहरूसँग परामर्श गरेर आचारसंहिता लागू गरिने जानकारी दिँदै निर्वाचनका समयमा फैलिने मिथ्या तथा भ्रमपूर्ण सूचना न्यूनीकरणमा आयोग सचेत रहेको बताउनुभयो।
अनुगमन समितिका संयोजक निर्वाचन आयुक्त जबराले विगतका कमजोरी सुधार गर्दै यसपटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक सुधार हासिल हुने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनको स्वच्छता र निष्पक्षता सुनिश्चित गर्न सूचना प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौती रोक्न आयोग सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्