Skip to content

चारपटक सांसद बनेका एमाले नेता बृजेशकुमार गुप्ताले छाडे पार्टी

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद निर्वाचित नेता बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन्।

पूर्वसंघीय मन्त्रीसमेत रहेका गुप्ताले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा युवा–विद्यार्थीका सुशासनलगायतका जायज मागलाई बेवास्ता गर्दै दमन गरेको, दुई ठूला दल मिलेर जे गरे पनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्वमा सुधारको संकेत नदेखेपछि पार्टी छाड्ने निर्णय गरेको बताएका छन्।

उनले पार्टी नेतृत्वको ध्यान सुशासनभन्दा भ्रष्टाचार संरक्षणतर्फ केन्द्रित भएको आरोपसमेत लगाएका छन्। “पार्टी नेतृत्वको गतिविधि र संस्कार भ्रष्टाचार गर्ने र भ्रष्टाचारी जोगाउनेतर्फ देखियो, तर सुशासन दिने इच्छाशक्ति देखिएन,” गुप्ताले  भने, “राम्रा कामको जस लिने तर गल्ती कमजोरी कहिल्यै नस्वीकार्ने प्रवृत्ति पटक–पटक देखिएपछि राजीनामा दिएको हुँ।”

गुप्ताले आफू भारतमा रहँदै पार्टीबाट राजीनामा दिएको र पछिल्लो महाधिवेशनमा पनि सहभागी नभएको जानकारी दिए। राजनीतिमा सक्रिय नै रहने उल्लेख गर्दै उनले अब कुन दलमा जाने भन्ने विषयमा आफ्नो निर्वाचन क्षेत्रका मतदाता तथा शुभेच्छुकसँग परामर्श गरिरहेको बताए।

इन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा प्रवेश गरेका गुप्ता सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, त्यसपछि तराई–मधेस लोकतान्त्रिक पार्टी हुँदै एमालेमा आबद्ध भएका थिए। उनले २०५६ र २०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०६४ र २०७० सालमा दुईपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

२०७९ सालको संघीय निर्वाचनमा भने उनी कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्