Skip to content

एसएमसी एपमार्फत ठगी: ११ जना पक्राउ, सर्वसाधारणलाई सतर्क रहन आग्रह

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले ‘एसएमसी’ नामक मोबाइल एप प्रयोग गरी अनलाइन ठगी गरेको अभियोगमा एक चिनियाँ नागरिकसहित ११ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उक्त समूहले सामाजिक सञ्जाल तथा अनलाइन विज्ञापनमार्फत आकर्षक कमाइको प्रलोभन देखाउँदै एसएमसी एप डाउनलोड गराएर सर्वसाधारणबाट मोटो रकम असुली गरेको खुलासा भएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले करिब ७ हजार जनाबाट १२ करोड ८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ।

साइबर ब्युरोका अनुसार गिरोहले चितवनको खैरहनीमा कार्यालय नै स्थापना गरी संगठित रूपमा ठगी गर्दै आएको थियो। उनीहरूले विश्वप्रसिद्ध फिल्म कम्पनीहरूसँग सहकार्य रहेको झुटो दाबी गर्दै फिल्मको विज्ञापन हेरेबापत पैसा पाइने लोभ देखाएर मानिसहरूलाई एसएमसी एपमा लगानी गर्न बाध्य पार्ने गरेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले थोरै कमिसनको लोभमा आफ्नो बैंक खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिन र ‘मनी म्युल’ नबन्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, घरमै बसेर भिडियो हेरेर पैसा कमाउने वा थोरै लगानीमा उच्च प्रतिफल दिने जस्ता भ्रामक विज्ञापनको पछि नलाग्न र कुनै पनि अनलाइन व्यवसायमा संलग्न हुनुअघि त्यसको आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न अनुरोध गरेको छ।

साइबर ब्युरोले यस्ता एप वा अनलाइन टास्कमार्फत ठगीमा परेको खण्डमा प्रमाणसहित तत्काल प्रहरीमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार