काठमाडौँ । सरकारले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गर्दै नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरण प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ। गृह मन्त्रालयले पुस २१ गते राजपत्रमा प्रकाशित सूचना अनुसार संशोधित नियमावली तत्काल लागू भएको छ।
संशोधित नियमावलीले विशेष गरी बाबुको पहिचान नभएका व्यक्ति, अनाथ बालबालिका र नाबालक परिचयपत्र लिने प्रक्रियालाई सहज र व्यवस्थित बनाउने लक्ष्य राखेको छ। अब बाबुको पहिचान नभएका व्यक्तिले नागरिकता टोली वा प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची-४क अनुसार स्वघोषणा गर्नुपर्नेछ। यदि निवेदन दिने बेला आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नभएको अवस्था भएमा चिकित्सकको सिफारिससहित स्वघोषणा गरेर नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, पितृत्व र मातृत्वको ठेगान नभएका व्यक्तिको नागरिकता जारी गर्दा बाबु वा आमाको नाम उल्लेख गर्ने ठाउँ खाली राख्न सकिनेछ। यस अवस्थामा व्यक्तिको गोपनीयता र आत्मसम्मानलाई ध्यानमा राख्दै विवरण खुलाउने छैन र संरक्षक भएमा मात्र संरक्षकको नाम उल्लेख हुनेछ।
नाबालक परिचयपत्रको लागि पनि नयाँ अनुसूची र प्रक्रिया तय गरिएको छ। अब १६ वर्षमुनिका बालबालिकाले जन्म दर्ता प्रमाणपत्र, बाबु वा आमाको नागरिकता र स्थानीय तहको सिफारिस पेश गरेपछि नाबालक परिचयपत्र पाउन सक्नेछन्। यस्तो परिचयपत्र बालकले १६ वर्ष पुग्ने बित्तिकै स्वतः रद्द हुनेछ र त्यसपछि नागरिकता लिनुपर्नेछ।
वैवाहिक अङ्गीकृत नागरिकता लिन चाहने विदेशी महिला वा बाबुको आधारमा नागरिकता लिन चाहनेले आफूले विदेशी नागरिकता नलिएको भनी स्वघोषणा (अनुसूची-७क) पेश गर्नुपर्नेछ। यदि विदेशी मुलुकको नागरिक भएको खण्डमा भिसाको म्याद कायम रहेको प्रमाण बुझाउनुपर्ने प्रावधान थपिएको छ।
नागरिकता वितरण प्रक्रियालाई छिटो बनाउन प्रमुख जिल्ला अधिकारीले वंशज र अङ्गीकृत नागरिकता जारी गर्ने अधिकार आफ्ना मातहतका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत वा सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था गरिएको छ।
साथै, नेपाली नागरिकता त्याग गरी विदेश गएका तर पुनः नेपाली नागरिकता कायम गर्न चाहनेका लागि नयाँ निवेदन ढाँचा (अनुसूची-११) निर्धारण गरिएको छ, जसले प्रक्रियामा एकरूपता सुनिश्चित गर्नेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्