Skip to content

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, पुराना मन्त्री हटाएर नयाँलाई शपथ गराउने तयारी

कालोपाटी

२ दिन अगाडि

 काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन्। नयाँ मन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखसँग मंगलबार साँझ साढे ४ बजेको समय तोकिएको छ। वर्तमान सरकारका सबै मन्त्रीले आजै राजीनामा दिने तयारीमा छन्।

कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरू फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी गरेका थिए। समझदारीपछि आजै नयाँ मन्त्रीको शपथको टुंगो लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

वर्तमान सरकारले एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई राखेका थिए। कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम रहेका थिए।

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी रहेको भण्डारीले बताए।

राजीनामापछि एमालेबाट विदुर लिङ्थेप (आर्थिक मामिला तथा योजना), चिन्तन पाठक (खानेपानी, सिँचाइ तथा ऊर्जा), इन्द्रमणि पराजुली (आन्तरिक मामिला तथा कानुन), रामकुमार महतो (सामाजिक विकास) र उमाकान्त गौतम (राज्यमन्त्री) मन्त्री बन्ने तयारी छ।

कांग्रेसबाट प्रदीप सुनुवार (भौतिक पूर्वाधार), भीम पराजुली (पर्यटन, वन तथा वातावरण), मानबहादुर लिम्बू (स्वास्थ्य), इस्राइल मन्सुरी (उद्योग, कृषि तथा सहकारी) र शोभा चेम्जोङ (राज्यमन्त्री) बन्नेछन्।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रालयको संख्या उस्तै रहनेछ, तर व्यक्ति फेर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्