काठमाडौँ । अमेरिकाले नेपाललाई पनि भिसा आवेदन गर्दा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही जनवरी २६ तारिखदेखि पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा लिन चाहने नेपाली नागरिकले धरौटी रकम पेश गर्नुपर्ने भएको हो।
नयाँ व्यवस्था अनुसार भिसा आवेदनका क्रममा ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ। भिसा अन्तर्वार्ताका बेला कन्सुलर अधिकृतले आवेदकको अवस्था र जोखिम मूल्याङ्कनका आधारमा धरौटी रकम निर्धारण गर्नेछन्। धरौटी राख्दैमा भिसा स्वीकृत हुने सुनिश्चित भने हुँदैन।
अमेरिकाको विदेश मन्त्रालयका अनुसार हालसम्म ३८ देशका नागरिकलाई भिसा बन्डको प्रावधान लागू गरिएको छ। यस सूचीमा दक्षिण एशियाका बङ्गलादेश र भुटान पनि परेका छन्।
अमेरिकाको यात्रा गरी तोकिएको अवधिभित्र देश बाहिरिएमा वा भिसा अवधि कायम रहँदा अमेरिका यात्रा नगरेमा धरौटी रकम फिर्ता गरिने व्यवस्था गरिएको छ। त्यस्तै, भिसा स्वीकृत भए पनि अमेरिका प्रवेशको अनुमति नपाएको अवस्थामा पनि धरौटी फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यसैबीच, अमेरिकी सरकारले बी–१/बी–२ भिसावाहकका लागि अमेरिका प्रवेश र बहिर्गमन गर्न तीनवटा विमानस्थल मात्र तोकेको छ। बस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल (बीओएस), न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (जेएफके) र वाशिङ्टन डीसी नजिकको डलस अन्तर्राष्ट्रिय विमानस्थल (आईएडी) बाहेक अन्य विमानस्थल प्रयोग गरेर प्रवेश वा बहिर्गमन गर्न नपाइने उल्लेख गरिएको छ।
नयाँ व्यवस्थाले नेपाली भिसा आवेदकहरूमा थप आर्थिक बोझ पर्ने देखिए पनि अमेरिकाले भिसा दुरुपयोग र अवैध बसाइ नियन्त्रणका लागि यो प्रावधान लागू गरेको जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्