Skip to content

स्वास्थ्य बीमा संकट : ११ अर्ब भुक्तानी बाँकी, अस्पताल सेवा बन्दको जोखिम

कालोपाटी

१ दिन अगाडि

 काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा पुगेको छ। स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई ११ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी राख्दा ठूला अस्पतालहरूले सेवा बन्द गर्ने चेतावनी दिन थालेका छन्।

त्रिवि शिक्षण अस्पतालले ३९ करोड, पाटन अस्पतालले ५२ करोड, वीर अस्पतालले ४० करोड र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १४ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जनाएको छ। लामो समयदेखि भुक्तानी नपाएपछि अस्पतालहरूले कार्यक्रम केही हप्ताभित्र बन्द गर्न सक्ने चेतावनी दिएका छन्।

अस्पतालका निर्देशकहरू भन्छन् कि भुक्तानी नआएमा तलब, औषधि खरिद र दैनिक अपरेसनमा गाह्रो हुनेछ। सरकारी अस्पताल भए पनि मासिक खर्च आफैं बेहोर्नुपर्ने भएकाले घाटा असह्य हुँदै गएको छ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले आर्थिक दबाब बढेको र वार्षिक २६ अर्ब भुक्तानीमा बोर्डले हाल ११ अर्ब मात्रै बाँकी भुक्तानी गर्न नसकेको बताए। उनी भन्छन्, “राज्यले बीमा गरिसकेपछि आवश्यक रकममा सीमा लगाउन मिल्दैन।”

अर्थ मन्त्रालयले अनुदानको सीमा तोकेको कारण थप रकम दिन नसक्ने जनाएको छ। स्वास्थ्य मन्त्री डा. सुधा शर्माले कार्यक्रमको दिगोपनका लागि पुनर्संरचना आवश्यक रहेको बताइन्। उनी भन्छिन्, “खर्च नियन्त्रण र व्यवस्थागत सुधारका कार्यक्रम अनिवार्य छन्।”

स्वास्थ्य मन्त्रालयले समस्या र सुधारका उपायबारे छलफल गर्न विशेष गोष्ठी आयोजना गर्न लागेको छ।

प्रतिक्रिया दिनुहोस्