Skip to content

जेनजी शहीद परिवारका २७ जनालाई विद्युत् प्राधिकरणमा जागिर

कालोपाटी

२ हप्ता अगाडि

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइका निवर्तमान मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो।

जेनजी शहीद परिवारका २७ जनाले रोजगारीका लागि निवेदन दिएका थिए। निवेदकको यकिन गरी उनीहरूको शैक्षिक योग्यताका आधारमा पायक पर्ने नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्ति गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता तथा मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम शहीद परिवारका सदस्यलाई रोजगारी दिने व्यवस्था गरिएको बोर्ड अध्यक्ष घिसिङले जानकारी दिए।

उक्त कार्यविधिअनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिलाई शहीद घोषणा गरिएको छ भने घाइते तथा अपाङ्ग भएका व्यक्ति वा नजिकका परिवारका सदस्यलाई निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था सम्बन्धित मन्त्रालयमार्फत मिलाउने प्रावधान छ।

आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले शहीद घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार