Skip to content

‘जेनजी पुस्ताको एजेन्डा सरकारको राजनीतिक रोडम्याप हो’: गृहमन्त्री अर्याल

कालोपाटी

२३ घण्टा अगाडि

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका एजेन्डा नै सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन्। उनले जेनजी पुस्तालाई महत्वपूर्ण ‘स्टेकहोल्डर’का रूपमा स्वीकार गर्दा सबै पक्षलाई लाभ हुने उल्लेख गरे।

बिहीबार काठमाडौंमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजीका मुद्दा उठ्दा जेनजी स्वयं त्यसको अभिन्न हिस्सा हुने बताए। सरकार र जेनजी पुस्ताबीच सम्झौता भइसकेकाले उनीहरूको एजेन्डालाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

उनले भने, “जेनजी पुस्ताको एजेन्डा सरकारको राजनीतिक रोडम्याप हो। जेनजीका मुद्दामा छलफल हुँदा जेनजी आफैँ यसको केन्द्रमा हुन्छ। जेनजीलाई महत्वपूर्ण स्टेकहोल्डर माने सबैलाई लाभ हुन्छ। परिवर्तनलाई स्वीकार नगरेसम्म हिंसा दोहोरिन्छ।”

गृहमन्त्री अर्यालले विधिको शासन मिचेर गरिएका कामलाई सुशासन भन्न नसकिने धारणा पनि व्यक्त गरे। सुशासनका लागि विधिको शासन अपरिहार्य रहेको उल्लेख गर्दै उनले जेनजी पुस्ताको सपना नै सुशासन भएको बताए।

“विधिको शासन मिचेर गरिएको काम सुशासन हुँदैन। सुशासनका लागि विधिको शासन अनिवार्य छ। कसैले नियम मिचेर स्टन्ड लिन्छ भने त्यसलाई सुशासन मान्न सकिँदैन,” उनले भने।

आफ्नो प्राथमिकता देश जोगाउने विषयमा केन्द्रित रहेको बताउँदै गृहमन्त्री अर्यालले कहिलेकाहीँ प्रतिक्रिया दिन ढिलाइ हुँदा त्यसलाई गलत अर्थ नलगाउन आग्रह गरे। उनले आफ्नो नियत सफा हुँदाहुँदै पनि आफूविरुद्ध गलत धारणा बनाइएको गुनासो गरे।

उनले आगामी निर्वाचन सुरक्षित, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न हुने दाबीसमेत गरे। पीडितको न्यायका लागि लडेर राजनीतिमा आएको व्यक्ति आफू भएको भन्दै व्यक्तिगत स्वार्थका लागि राजनीति नगर्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्