Skip to content

प्रतिनिधिसभा चुनावमा ८० हजार सेना परिचालन हुने

कालोपाटी

२२ घण्टा अगाडि

काठमाडौं । नेपाली सेनाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार पारिएको एकीकृत सुरक्षा योजना २०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार नेपाली सेना परिचालन हुने उनले जानकारी दिए।

उनका अनुसार निर्वाचनका क्रममा सेनाले तीन चरणमा काम गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा बहन गर्नेछ।

निर्वाचनको तयारीका क्रममा चारै सुरक्षा निकाय र जिल्ला प्रशासनसँग सहकार्य गर्दै तल्लो तहसम्म एकीकृत तालिम तथा अभ्यास सञ्चालन गरिने पनि उनले बताए।

मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सुरक्षा प्रदान गर्नेछ। निर्वाचन सम्पन्न भएपछि मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षामा पनि सेनाको भूमिका रहनेछ।

प्रतिक्रिया दिनुहोस्