नेपाली राजनीतिमा एउटा निकै मर्मस्पर्शी उखान छ– “आफ्नो आङको भैंसी नदेख्ने, अरुको आङको जुम्रा खोज्दै हिँड्ने ।” अहिले देशका ठुला भनिएका र आफुलाई लोकतन्त्रको ‘मसिहा’ ठान्ने दलहरू, विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको हर्कत देख्दा यो उखान ठ्याक्कै चरितार्थ भएको छ । केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बन्द समानुपातिक सूची सार्वजनिक गर्दा यिनै पुराना दलका भ्रातृ संगठन र हनुमान कार्यकर्ताहरू सामाजिक सञ्जालमा खनिएका थिए । उनीहरूले रास्वपालाई ‘व्यापारी भर्ती केन्द्र’ र ‘नेपो किड्स (नेताका सन्तान) को क्लब’ भन्दै निकै खेदो खने । तर, जब निर्वाचन आयोगले यिनै ‘अनुभवी’ दलहरूको बन्दसूचीको पाना पल्टाउन थाल्यो, तब यिनीहरूको आन्तरिक भद्रगोल, बेथिति र अनैतिकताको असली रूप बजारमा छताछुल्ल भएको छ ।
गफ ठुला, काम चाहिँ ‘लज्जास्पद’
आफुलाई दशकौंको राजनीतिक इतिहास बोकेको, विधि र विधान सिकाउने ‘पुराना र परिपक्व’ दल भन्न रुचाउने काँग्रेस-एमालेको समानुपातिक सूची हेर्दा कुनै पनि सचेत नागरिकलाई अचम्म लाग्छ । यस्तो लाग्छ– यिनीहरूले कुनै राष्ट्रिय पार्टी चलाइरहेका छैनन्, बरु कुनै गाउँको सानो क्लब चलाउँदैछन् जहाँ नियम र प्रक्रियाको कुनै अर्थ छैन । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ठुला दलले बुझाएको सूचीमा यति धेरै प्राविधिक र नीतिगत त्रुटिहरू छन् कि ती सच्याउन आयोगले निरन्तर इमेलमाथि इमेल काट्नु परेको छ । कतिपय उम्मेदवारको त सूचीमा अनिवार्य हुनुपर्ने हस्ताक्षरसम्म छैन । के यो सामान्य हेलचेक्र्याइँ मात्र हो कि आफ्ना निकटका मान्छेलाई जसरी पनि छिराउने खराब नियत ? एउटै व्यक्तिको नाम दुई-दुई वटा फरक ठाउँमा कोचिनुले यी दलभित्रको प्रशासनिक लाचारी र उम्मेदवार छनोटमा भएको अन्धधुन्ध भागबन्डालाई नांगो पारेको छ ।
समावेशिताको नाममा जालझेल र जालसाजी
सबैभन्दा गम्भीर र आपत्तिजनक कुरा त समावेशी क्लस्टरमा गरिएको बेइमानी हो । राज्यले पछाडि पारिएका समुदाय र क्षेत्रलाई मूल प्रवाहमा ल्याउन बनाएको ‘पिछडिएको क्षेत्र’ को कोटामा समेत ठुला दलले डकैती गर्न खोजेका छन् । पिछडिएको क्षेत्र भनेर नाम सिफारिस गरिएका ‘भावी माननीय’ हरूको नागरिकता हेर्दा अर्कै सुगम जिल्लाको भेटिनुले के संकेत गर्छ ? यो त सोझै जनताको आँखामा छारो हाल्ने र राज्यको समावेशी प्रणालीको खिल्ली उडाउने निकृष्ट कार्य हो । कानुनको छिद्र खोजेर आफ्ना खल्तीका मान्छे र चन्दादातालाई सांसद बनाउने यो दाउपेचले संविधानको मर्ममाथि नै प्रहार गरेको छ ।
अर्कोलाई गाली गर्नेले ऐना हेर्ने कि ?
हिजो रास्वपाको सूची विवादमा आउँदा नैतिकताको लामो भाषण छाँट्ने काँग्रेस र एमालेका नेताहरू आज आफ्नै दलको बिजोग देख्दा कुन मुखले जनतामाझ जालान् ? रास्वपाभित्रको विवादपछि केही उम्मेदवारले ‘विवादमा आउनु भन्दा छोडिदिनु बेस’ भन्दै नैतिकता देखाएर नाम फिर्ता लिएका उदाहरण छन् । तर, काँग्रेस र एमालेका ‘कोटा’ मा परेका र शक्ति केन्द्रको आशीर्वाद पाएकाहरूमा त्यो न्यूनतम नैतिकताको ‘न’ पनि देखिएको छैन । बरु उनीहरू कसरी जालझेल गरेर भए पनि सूचीमा टिकिरहने भन्ने ध्याउन्नमा छन् । ‘चाकरीबाज’ हरुलाई पद दिलाउनै पर्ने बाध्यताले गर्दा आज यी दलहरू निर्वाचन आयोगको ढोकामा स्पष्टीकरण दिँदै र गल्ती ढाकछोप गर्दै हिँडिरहेका छन् ।
आयोगको अल्टिमेटम: अब कतिन्जेल ढाकछोप गर्ने ?
निर्वाचन आयोगले आगामी पुस २७ गतेसम्म यी सबै फोहोरी खेल, प्राविधिक त्रुटि र क्लस्टरका बेइमानी सच्याउन अन्तिम समय दिएको छ । उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहनेका लागि पुस २८ गतेसम्मको समय छ । यदि अझै पनि यी दलहरूले ‘भुलवस’ भएको भन्दै आफ्ना मान्छे सेटिङ गर्न र नक्कली क्लस्टर कायम राख्न खोजे भने माघ ४ गते सूची सार्वजनिक भएपछि आउने आँधीबेहरीले यिनीहरूको सातो जाने निश्चित छ । माघ ५ देखि १० गतेसम्म हुने दाबी-विरोधको अवधिमा जनता र सचेत युवाहरूले यिनका हरेक उम्मेदवारको योग्यता र कागजातको धुलो टक्टक्याउनेछन् ।
जेनजी (Gen-Z) को चेतना र दलहरूको ओरालो यात्रा
अबका युवा र नयाँ पुस्ता (Gen-Z) केवल पार्टीको झण्डा बोकेर नारा लगाउने ‘हनुमान’ वा अन्धभक्त कार्यकर्ता होइनन् । उनीहरू प्रविधिसँगै सूचनामा पहुँच राख्छन् र हरेक नेताको बोली र व्यवहारको नालीबेली केलाउन सक्षम छन् । “अरुले जे गरे पनि पाप, आफुले जे गरे पनि पुण्य” भन्ने यो पुरानो सामन्ती र दम्भी सोचलाई नयाँ पुस्ताले पूर्णतः ‘बाइकट’ गरिसकेको छ ।
त्यसैले, काँग्रेस लगायतका ठुला दलका शीर्ष नेताहरू हो– देशमा चुनाव लागिसक्यो, यो आन्तरिक किचलो, गुटबन्दी र भागबन्डाको फोहोरी राजनीतिबाट विश्राम लेउ ! अरुलाई नैतिकता र पद्धतिको पाठ सिकाउनु अघि आफ्नै पार्टीभित्रको भद्रगोल सुधारेर ‘आफ्नो आङको भैंसी’ धपाउ । नत्र, इतिहासको पानामा केवल ‘गफ ठुला, तर मति भ्रष्ट’ भएका दलको रूपमा मात्र तिम्रो नाम सीमित हुनेछ । समयमै चेतना भया !
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्