Skip to content

दुई दिनमा देशभर १५ आगलागी, १ को मृत्यु ४८ घाइते

कालोपाटी

१ हप्ता अगाडि

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति र हिजो देशभर भएका १९ वटा विपद् सम्बन्धी घटनामध्ये १५ वटा आगलागीका रहेका छन्।

ती घटनामा परेर कूल ४८ जना घाइते भएका छन् भने १ जनाको ज्यान गएको छ। विपद्का कारण झन्डै १० लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही तथा रौतहटका दुई–दुई स्थानमा आगलागीका घटना भएका छन्। यसैगरी बारा, कैलाली, कञ्चनपुर, अछाम र डडेल्धुरामा पनि आगलागीका घटना भएको जनाइएको छ।

यस्तै, सोलुखुम्बु, ओखलढुङ्गा, म्याग्दी, रुकुम पूर्व र कालीकोटका वन क्षेत्रमा डढेलो लागेको प्राधिकरणले जानकारी दिएको छ।

हिउँदयाममा विभिन्न कारणले आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणले विद्युत् सर्ट हुनु, परालको कुन्यूमा असावधानीवश आगो लाग्नु तथा गोठमा आवश्यक सावधानी नअपनाई आगो बाल्दा क्षति हुने गरेको बताएको छ।

आगलागीका घटना न्यूनिकरणका लागि आगो बाल्दा विशेष सावधानी अपनाउन, प्रयोगपछि आगो पूर्ण रूपमा निभाउन तथा ज्वलनशील पदार्थ जथाभावी नराख्न प्राधिकरणले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार