Skip to content

मेला महोत्सवमा कलाकारको चाप, पुष्कल शर्माको प्रस्तुतिमा दर्शकको भीड

कालोपाटी

१६ घण्टा अगाडि

काठमाडौं । यतिबेला देशभर आयोजना भइरहेका मेला महोत्सवका कारण कलाकारहरू व्यस्त देखिएका छन् ।काठमाडौंमा स्थिर नबसी एक स्थानबाट अर्को स्थानसम्म यात्रा गर्दै उनीहरू निरन्तर मञ्चमा प्रस्तुत भइरहेका छन् । कलाकारहरूको जीवनशैली नै यात्रामय हुने गरेको छ ।

विभिन्न जिल्लामा १५ देखि २० दिनसम्म सञ्चालन हुने मेला महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न कलाकारहरू गीत संगीतमार्फत माहोल तताइरहेका छन् । मेला महोत्सवमा चर्चित कलाकारदेखि स्थानीय कलाकारसम्मको उल्लेख्य उपस्थिति रहने गरेको छ । दर्शकको चाहनाअनुसार गीत गाउने, नचाउने र रमाइलो गराउने कलाकारहरूको प्रस्तुतिले मेला थप आकर्षक बन्दै गएको छ ।

मञ्चअगाडि दर्शकको ठूलो भीड लाग्दा कलाकारहरूमा थप उत्साह देखिन्छ । यसले कलाकार र दर्शकबीचको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाएको छ । यही भीड र उत्साहबीच नेपाली लोकदोहोरी तथा विविध विधाका गीतमार्फत एकछत्र लोकप्रियता कमाइरहेका गायक पुष्कल शर्मा पनि यतिबेला मेला महोत्सवमा व्यस्त देखिएका छन् ।

लोकदोहोरीदेखि झ्याउरे गीतसम्म उनका सिर्जनाहरू निरन्तर चर्चामा छन् । स्टेजमा पुष्कलले गीत गाउन सुरु गर्नासाथ दर्शकहरू नाच्न र रमाउन मात्र होइन, आफ्नै जीवनसँग मेल खाने गीत सुनेर भावुक बन्ने गरेका छन् । उनका ‘मुटु जलाई जलाई’, ‘चिता’, ‘मलामी’, ‘निभेको लाल्टिन’, ‘आउँछौ आउँदैनौ’ लगायतका थुप्रै गीतहरू नेपाली समाजमा अत्यन्त लोकप्रिय छन् । समयसापेक्ष विषयवस्तु समेटिएका गीत बजारमा ल्याउँदै आएका शर्माले निरन्तर चर्चा कमाइरहेका छन् । गीत संगीत प्रेमीमाझ उनलाई नचिन्ने सायदै भेटिन्छन्, जसले उनको लोकप्रियतालाई स्पष्ट पार्छ ।

मेला महोत्सवमा पुष्कलको प्रस्तुतिमा सधैंझैं दर्शकको उल्लेख्य भीड लाग्ने गरेको छ । यही क्रममा उनी आगामी माघ १ गते आठौँ माघे सङ्क्रान्ति मगर मेलाको अवसरमा बर्दघाट जाने कार्यक्रम तय भएको लोकदोहोरी कलाकार शर्माले जानकारी दिए । बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा आयोजना हुने उक्त मेलामा उनको विशेष प्रस्तुति रहने शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्