काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलामा पुगेको सुन्तलामा कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन्।
बिक्रीका लागि तयार अवस्थामा पुगेको सुन्तलामा औँसे कीरा र पतेरोको प्रकोप देखिएपछि किसानहरू चिन्तामा परेका हुन्। विगतमा सुन्तलाखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका किसान भोजबहादुर कार्कीका अनुसार अहिले रोग र कीराको प्रकोपका कारण उत्पादन नष्ट हुँदै गएको छ। फल झर्ने, कीरा लाग्ने र विभिन्न रोगका कारण बजारसम्म सुन्तला पुर्याउनै मुस्किल भइरहेको उनले बताए।
लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले केही वर्षअघि सुन्तला बेचेर राम्रो आम्दानी हुने गरेको स्मरण गर्दै अहिले आफ्नो बगैँचामा पनि रोग र सङ्क्रमणले ठूलो क्षति पुगेको जानकारी दिए।
लामिडाँडामा सुरुमा तीन घरबाट सुरु गरिएको सुन्तलाखेती हाल प्रायः सबै घरमा विस्तार भएको छ। हाल प्रत्येक घरमा १५ देखि ५० वटासम्म सुन्तलाका बोट रहेका छन्। तर सबै किसानले लगाएको सुन्तलामा उस्तै समस्या देखिएको छ।
स्थानीय किसान धनबहादुर तामाङका अनुसार मौसमी प्रकोपबाट सुरु भएको क्षति अहिले कीरा र रोगको ठूलो महामारीमा परिणत भएको छ। असिनाले फूल नष्ट गर्नु, अनियमित वर्षा, पहिले जस्तो नियमित पानी नपर्नु र कहिलेकाहीँ अत्यधिक वर्षा पर्नुजस्ता समस्याले उत्पादनमा गम्भीर असर पारेको उनले बताए। बदलिँदो मौसमले सुन्तलाखेतीमा नकारात्मक प्रभाव परेको किसानहरूको गुनासो छ।
यता जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारीले रोग र कीराले सङ्क्रमित फल माटोमै सड्न नदिने गरी खाल्डो खनेर गाड्नुपर्ने बताए। झरेका फलका लार्भा माटोभित्र गएर अर्को वर्ष अझ ठूलो प्रकोप ल्याउन सक्ने भएकाले लार्भालाई माटोमै सड्न नदिनु आवश्यक रहेको उनको भनाइ छ।
रोग र कीराको प्रकोप नियन्त्रण गर्न समय लाग्ने भन्दै कृषि प्राविधिकको सल्लाहअनुसार उपचार र व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्