Skip to content

जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । जनकपुरधाम नगर क्षेत्रमा मागअनुसार खानेपानी आपूर्ति नहुँदा यहाँका करिब ८० प्रतिशत परिवार अझै सुरक्षित खानेपानीको पहुँचबाट बाहिर रहेका छन् । खानेपानी संस्थान जनकपुरधामले दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम पानी वितरण गरिरहेको छ ।

खानेपानी संस्थानका अनुसार नगर क्षेत्रमा दैनिक करिब दुई करोड ५० लाख लिटर पानीको माग रहेको छ । तर हाल संस्थानले करिब २० प्रतिशत घरधुरीमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्न सकेको जनाएको छ ।

कार्यालय प्रमुख विष्णुदेव साहले राष्ट्रिय जनगणना २०७८ अनुसार जनकपुरधाममा ४० हजार ४०९ परिवार रहेको जानकारी दिए । तीमध्ये करिब पाँच हजार घरमा मात्र खानेपानीको धारासहित मिटर जडान गरिएको छ । उनका अनुसार ती धाराजडित घरमध्ये पनि करिब ४० प्रतिशतमा आंशिक रूपमा मात्र पानी आपूर्ति भइरहेको छ । पछिल्लो समय परिवार सङ्ख्या बढ्दै जाँदा खानेपानीको माग थप चर्किएको उनले बताए ।

वडा नम्बर १० र रामानन्द चोकमा निर्माण गरिएका चार लाख ५० हजार लिटर क्षमताका दुईवटा ओभरहेड ट्याङ्कीमा छवटा डिप बोरिङमार्फत सङ्कलित भूमिगत पानी प्रशोधन गरी वितरण गरिँदै आएको छ । तर करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुट्ने, चर्किने तथा जीर्ण संरचनाका समस्या देखिँदा नियमित पानी वितरणमा कठिनाइ भइरहेको साहले बताए ।

सीमित बजेटका कारण जीर्ण पाइप प्रणाली सुधार गर्न नसकिएको जनाउँदै उनले हाल वितरण हुने पानीमध्ये करिब ५० प्रतिशत मात्र उपभोक्तासम्म नियमित रूपमा पुग्ने अवस्था रहेको बताए ।

गत आर्थिक वर्षमा कार्यालय हाताभित्र एक करोड ३० लाख रुपैयाँको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । यस्तै, मुजेलिया प्रहरी चौकीदेखि वडा नम्बर ८ स्थित होटल सियाशरणसम्मको सडक दायाँ–बायाँ आठ–आठ इन्चका पाइप बिछ्याउन चार करोड रुपैयाँभन्दा बढी खर्च गरिएको कार्यालयले जनाएको छ ।

सीमित स्रोत र साधनका बाबजुद उक्त क्षेत्रमा पानी भण्डारण र धारा जडानको काम भइरहेको प्रमुख साहले बताए । यद्यपि, पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुँदा पानी वितरण थप प्रभावित हुने गरेको कार्यालयका कर्मचारीको गुनासो छ ।

खानेपानीको स्थायी आपूर्ति नहुँदा जनकपुरधामका अधिकांश परिवार चापाकल र मोटर प्रयोग गरेर खानेपानी तथा दैनिक प्रयोगका काम पूरा गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार