रौतहट । आगामी माघे संक्रान्ति (माघी) पर्वको अवसरमा रौतहटको गुजरा नगरपालिका वडा नं. ९, दयालपुरमा भव्य ‘माघी महोत्सव २०८२’ आयोजना हुने भएको छ ।
थारु कल्याणकारी सभा लगायत विभिन्न थारु संघ–संगठनहरूको संयुक्त आयोजनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघीलाई विशेष उत्सवका रूपमा मनाउन लागिएको हो ।
गुजरा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेम चौधरीका अनुसार महोत्सव आगामी माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ । थारु कल्याणकारी सभा जिल्ला कार्य समितिको दयालपुरस्थित नवनिर्मित भवनको प्राङ्गणमा कार्यक्रमको तयारी भइरहेको छ । महोत्सवमा विशेष गरी ख्यातिप्राप्त थारु कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने वडाध्यक्ष चौधरीले जानकारी दिए ।
पछिल्लो समय थारु समुदायका युवा पुस्ता आधुनिक पश्चिमा संस्कृतितर्फ आकर्षित हुँदै गएपछि आफ्नो मौलिक संस्कृति ओझेलमा पर्न थालेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । वडाध्यक्ष चौधरीले भने, ‘हाम्रा युवाहरूले आफ्नो परम्परा र संस्कृति नबिर्सुन् भन्ने मुख्य उद्देश्यका साथ यस वर्ष हामीले सांस्कृतिक कार्यक्रम र प्रदर्शनीलाई विशेष प्राथमिकता दिएका छौँ ।’
महोत्सवको मुख्य आकर्षण थारु जातिको ऐतिहासिक एवं मौलिक पहिचानको प्रदर्शनी रहनेछ। कार्यक्रममा थारु समुदायले दैनिक कार्यमा प्रयोग गर्ने परम्परागत सामग्रीहरू, प्राचीन पहिरन तथा ऐतिहासिक नाचहरूको प्रदर्शन गरिनेछ । यसका साथै थारु समुदायका मौलिक परिकारहरू जस्तैः घोंगी, माछाको सिध्रा, माछाको सुकुटी, मासु र भुजाको लड्डु (लाई) का स्टलहरू समेत राखिनेछन् ।
थारु समुदायले माघीलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । यस दिन ठुलो परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई आगामी वर्षको योजना बुन्ने, सगोलमा बस्ने वा छुट्टिने भन्ने जस्ता पारिवारिक निर्णयहरू लिने परम्परा रहेको छ ।
रौतहटका जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, मैरा, कटानी, चोचा, रंगपुर र राजपेडा लगायतका क्षेत्रहरू थारु बहुल्यता छ । यी क्षेत्रका स्थानीयहरू माघी महोत्सवलाई लिएर निकै उत्साहित देखिएका छन् । महोत्सवले थारु समुदायको कला, संस्कृति र खानपानको प्रवद्र्धन गर्नुका साथै जातीय एकतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्