काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनले पद र व्यक्तिभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्ने बताएका छन्।
मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बन्दसत्रमा उठेका सबै सुझाव समेटेर पार्टीको दृष्टिकोण दस्तावेजलाई अझ परिमार्जन र परिपक्व बनाइ पारित गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले महाधिवेशन प्रतिनिधिहरूका सुझाव मात्र नभई पार्टी बाहिर रहेका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारमाध्यममार्फत आएका सुझावसमेत दस्तावेजमा समेटिने बताए।
‘यो दस्तावेज केही हजार शब्दको पुस्तिका मात्र होइन, आजको नेपाललाई कांग्रेसले कसरी हेर्छ भन्ने साझा दृष्टिकोण हो,’ शर्माले भने, ‘युवाको हुटहुटीलाई कसरी नेतृत्व गर्ने, विगतका उपलब्धि र कमजोरीलाई कसरी आत्मसात् गर्ने भन्ने विषय यसमा समेटिनेछ।’
महामन्त्री शर्माले कांग्रेसले आत्मसमीक्षाबाट नयाँ यात्रा सुरु गरिरहेको उल्लेख गर्दै नौ घण्टाभन्दा बढी समय निरन्तर चलेको बन्दसत्रलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गरे।
‘खानाको ब्रेकसमेत नगरी नौ घण्टाभन्दा बढी समय छलफल हुनु आफैंमा कांग्रेसको गम्भीरता र जिम्मेवारीबोध हो,’ उनले भने।
उम्मेदवारी दर्तासम्बन्धी जानकारी दिँदै शर्माले करिब ९५० जनाले फाराम लिएको जानकारी आएको बताए। विशेष परिस्थितिमा सर्वसम्मतिबाट नेतृत्व चयन हुन सक्ने सम्भावनातर्फ संकेत गर्दै उनले पदभन्दा सन्देश ठूलो हुने स्मरण गराए।
‘म पदमा आएँ कि आएन भन्ने मुख्य कुरा होइन, यो विशेष महाधिवेशनले देशलाई दिने सन्देश नै सबैभन्दा महत्वपूर्ण हो,’ उनले स्पष्ट पारे।
कांग्रेसको इतिहास स्मरण गर्दै शर्माले लोकतन्त्रका लागि पार्टीका नेताहरूले जेल जीवनसमेत बिताएको उदाहरण प्रस्तुत गरे।
‘हामीले अग्रजहरूबाट धैर्यता, संयम र जुझारुपन सिक्नुपर्छ,’ उनले भने।
महामन्त्री शर्माले आफू र अर्का महामन्त्री गगन थापा एउटै जिम्मेवारीमा रहेर पार्टीलाई अघि बढाइरहेको उल्लेख गर्दै व्यक्तिभन्दा संस्थालाई प्राथमिकतामा राख्न आग्रह गरे।
‘म होइन, हामी भन्ने संस्कार कांग्रेसमा स्थापित हुनुपर्छ,’ उनको भनाइ थियो।
उनले प्रस्तावित दृष्टिकोण दस्तावेजलाई सर्वसम्मत रूपमा पारित गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्दै विशेष महाधिवेशनपछि नेपाली कांग्रेस नयाँ ऊर्जा र बद्लिएको स्वरूपसहित अघि बढ्ने सन्देश देशभर पुग्ने विश्वास व्यक्त गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्