काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वहरूले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सुख, शान्ति र समृद्धिको कामना गरेका हुन्।
शुभकामना सन्देशमा उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरूले जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धन गर्न मद्दत गर्ने उल्लेख गरेका छन्। साथै माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच आपसी मेलमिलाप र सहिष्णुताको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्व नेपालका विभिन्न जातजातिले आ–आफ्नै परम्परा र संस्कृतिअनुसार हर्षोल्लासका साथ मनाउने गरिन्छ। विशेषगरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने प्रचलन रहेको छ। यस अवसरमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाई परिवारसँग रमाइलो गर्ने चलन छ।
राष्ट्रपति पौडेलले माघे सङ्क्रान्तिका दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी तथा त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको उल्लेख गरेका छन्। यस्ता पर्वहरू विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा नेपालको पहिचान विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ।
शुभकामना सन्देशमा उनले माघे सङ्क्रान्ति एवम् माघी पर्वले संस्कृतिको संरक्षण गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्