Skip to content

आज राष्ट्रिय योग दिवस मनाइँदै

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । एघारौँ राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गर्दै यसको संयोजनको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको थियो।

उत्तरायण सुरु हुने मकर सङ्क्रान्तिको दिनलाई योग र ध्यान साधनाका लागि महत्वपूर्ण मानिने भएकाले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरिएको हो। यसअघि विसं २०३६ देखि डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योग क्षेत्रमा काम गर्ने संस्थाहरूको सहभागितामा विश्व योग दिवस मनाउने अभ्यास हुँदै आएको थियो।

प्राचीन वैदिक कालमा हिमालय क्षेत्रमै ऋषिमुनिहरूले योग, ध्यान र आयुर्वेदको विकास गरेको इतिहास रहेको छ। योगका माध्यमबाट मानसिक शान्ति, स्थिरता र आरोग्यता प्राप्त हुने विश्वास गरिन्छ। आधुनिक जीवनशैलीका कारण केही समय उपेक्षित बनेको योग पछिल्लो समय स्वास्थ्य र मानसिक सन्तुलनका लागि पुनः लोकप्रिय बन्दै गएको छ।

आयुर्वेदसँग योगलाई जोड्दै विसं २०४८ देखि नरदेवी आयुर्वेद अस्पतालमा तथा विसं २०५८ देखि दाङको क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरीमा योग अभ्यास सुरु गरिएको थियो। हाल योग र प्राकृतिक चिकित्साप्रति जनचासो बढ्दै गएको छ।

नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन–अध्यापन हुँदै आएको छ। यहाँ विभिन्न तालिम तथा स्नातकोत्तर तहसम्मका पाठ्यक्रम सञ्चालनमा छन्।

योग वैदिक चिकित्सा पद्धति भएको उल्लेख अथर्ववेद, गीतालगायत प्राचीन ग्रन्थहरूमा पाइन्छ। योगलाई मानवभित्रका सम्भावनाहरू उजागर गर्ने ज्ञान–विज्ञानका रूपमा लिइन्छ।

राष्ट्रिय योग दिवसको अवसरमा आज देशभर योग अभ्यास, प्रवचन, गोष्ठी र सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरमा योग दिवसको मूल कार्यक्रम हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्