Skip to content

कांग्रेस कार्यसमितिले पार्टी विवरण अद्यावधिक गर्न दियो निर्वाचन आयोगमा निवेदन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा कानूनविद्हरूसहितको टोली आयोग कार्यालय पुगेर निवेदन बुझाएको हो ।

निवेदन बुझाउँदै सभापति थापाले माघ ६ गतेको समयसीमालाई ध्यानमा राखी छिटो निर्णय गर्न कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आग्रह गर्नुभएको छ । उहाँले विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको र आवश्यक सबै कागजात तथा विवरण पेश गरिएको जानकारी दिनुभयो । आयोगले निवेदन स्वीकार गरे पनि हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।

निवेदन दिनु अघि बसेको बैठकले निर्वाचन आयोगमा हस्ताक्षरसहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउने निर्णय गरेको थियो । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा पदाधिकारी र १६६ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो । आयोगले विवरण अद्यावधिक गरेमा उक्त समूह वैधानिक रूपमा नेपाली कांग्रेसका रूपमा मान्यता पाउनेछ ।

यसैबीच, आज बसेको केन्द्रीय कार्यसमिति बैठकले देवराज चालिसेलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । प्रवक्ता चालिसेका अनुसार बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै सभापति थापाको नेतृत्वमा चुनावी घोषणापत्र लेखन समिति र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार