काठमाडौं, माघ २ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले लोकप्रिय नारा भन्दा इमानदार नेतृत्वको आवश्यकता औंल्याएका हुन्।
मेयर बालेनले विकासको अर्थ केवल सडक, भवन र ठूला संरचना निर्माण मात्र नभएको उल्लेख गर्दै सुरक्षित संरचना, देशको आवश्यकता र आम नागरिकको आशालाई जीवन्त राख्ने वातावरण निर्माण नै वास्तविक विकास भएको बताए।
उनले लेखेका छन्, “संस्थागत विकास कागजमा सीमित नभई हरेक नागरिकले अनुभूत गर्न पाउनुपर्छ। आशाको सञ्चार मात्र होइन, कटिबद्ध भएर इमानदारीपूर्वक देशलाई अघि बढाउनुपर्छ।”
स्ट्रक्चरल इन्जिनियरको रूपमा आफ्नो अनुभव उल्लेख गर्दै उनले २०७२ सालको भूकम्पपछि देशका विभिन्न भागमा सिभिल इन्जिनियरका रूपमा काम गरेको बताएका छन्। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको दाबी गर्दै उनले गोरखासहित देशका ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको उल्लेख गरेका छन्।
भूकम्प सुरक्षा दिवसको सन्दर्भमा उनले अब कहिल्यै पनि त्यस्तो विपद् नआओस् भन्ने कामना व्यक्त गरेका छन्। नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा केवल सिभिल इन्जिनियरिङको कोणबाट मात्र विकास सम्भव नहुने उल्लेख गर्दै उनले भूगोल र विविध समाजलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेका छन्।
“राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र तिनलाई जोड्न सक्ने बलियो सेतु निर्माण गर्नु हो,” उनले भनेका छन्।
सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सन्तुलन, जिम्मेवार नीति र इमानदार नेतृत्व आवश्यक रहेको उनको निचोड छ। यही बुझाइका साथ आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको उनले खुलाएका छन्।
अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको उल्लेख गर्दै उनले नागरिकको विश्वासका कारण आज काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्न पाएको बताए।
“शब्दभन्दा कामलाई प्राथमिकता दिँदै स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिएको छ,” उनले लेखेका छन्।
महानगरपालिकाबाट सुरु भएका पारदर्शी प्रणाली, संरचनागत सुधार र प्रत्यक्ष अनुभूति गर्न सकिने सेवाहरूलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको भनाइ छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्