Skip to content

रास्वपाबाट रञ्जु दर्शनाको काठमाडौं–१ मा उम्मेदवारी

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–१ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि रञ्जुले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी थिइन्।

रञ्जु दर्शनाको राजनीतिक यात्रा विवेकशील साझा पार्टीबाट सुरु भएको हो र हाल रास्वपामा आएकी छन्। उनले समानुपातिक उम्मेदवारको लागि प्राइमरी इलेक्शनमा भाग लिएकी थिइन् र महिला आकांक्षीमध्ये सर्वाधिक मत पाएकी थिइन्। तर, रास्वपाले बन्दसूचीमा उनलाई खस–आर्य महिलाको क्लस्टरमा १० औं नम्बरमा राखेपछि उनी असन्तुष्ट भइन्।

पार्टीभित्र र बाहिर रञ्जुलाई अन्याय गरिएको भन्दै विरोध भयो। बन्दसूचीमा संशोधन भए पनि न्याय नभएको अनुभव गरेपछि रञ्जुले नाम फिर्ता लिएकी थिइन्। अन्ततः पार्टी नेतृत्वले उनलाई प्रत्यक्ष उम्मेदवारको रूपमा अघि सार्ने निर्णय गरेको हो।

रञ्जु दर्शनु चाँडै आमा बन्ने तयारीमा भएकी छिन्। शारीरिक अवस्थाका कारण समानुपातिकमा उम्मेदवारी दिन कठिन हुने भए पनि प्रत्यक्ष उम्मेदवारको रूपमा काठमाडौं–१ रोजेको बताइएको छ। यस क्षेत्रमा तुलनात्मक रूपमा घरदैलो गर्न सहज हुने भएकाले उनलाई यो क्षेत्र उपयुक्त लागेको छ।

यसैगरी, यस क्षेत्रमा रास्वपाबाट पुकार बम पनि दावेदार थिए। अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर तेस्रो भएका बम यसपटक टिकट पाउने सम्भावना नपाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार