Skip to content

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुआतमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल सार्वजनिक ऋण कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत बराबर पुगेको छ। कूल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत अर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख रुपैयाँ रहेको छ भने आन्तरिक ऋण ४७ प्रतिशत अर्थात् १३ खर्ब १९ अर्ब १३ करोड १० लाख रुपैयाँ छ।

जीडीपीको आधारमा हेर्दा आन्तरिक ऋणको अनुपात २१.६० प्रतिशत र वैदेशिक ऋणको अनुपात २४.३५ प्रतिशत रहेको छ।

सरकारले चालू आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। अर्धवार्षिक समीक्षा अवधिसम्ममा दुई खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ ऋण संकलन भइसकेको छ।

यसैबीच, सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा पनि ठूलो रकम खर्च भइरहेको छ। चालू आर्थिक वर्षका लागि सरकारले ऋणको साँवा–ब्याज भुक्तानीमा चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्ममा एक खर्ब ८७ अर्ब १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार