Skip to content

चुनावका लागि भरपर्दो सुरक्षा योजनासहित प्रहरी परिचालन गर्न आईजीपी कार्कीको निर्देशन

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आउँदो निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्य माध्यममार्फत आयोजित कार्यक्रममा आईजीपी कार्कीले निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। उहाँले आ–आफ्नो कार्यक्षेत्रमा आपराधिक गतिविधि हुन नदिन सूचनाको प्रभावकारी सङ्कलन गरी सुदृढ सुरक्षा व्यवस्था मिलाउन जोड दिनुभयो।

प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी कार्कीले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन तथा फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकतामा राखी थप सक्रिय भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख एआईजीपी उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख एआईजीपी सुशीलसिंह राठौरले पनि खटिने प्रहरी कर्मचारीहरूलाई परिस्थितिअनुसार आफूलाई ढालेर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।

सो अवसरमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, विशेष सुरक्षा गण, प्रदेश तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार