काठमाडौँ । मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीको अवसरमा कृषि नववर्ष उत्सव मनाउने परम्परा आज पनि निरन्तर कायम छ । विद्याकी अधिष्ठातृ देवी सरस्वतीको पूजा गरिने यस पर्वलाई मिथिलामा श्रीपञ्चमीका रूपमा पनि चिनिन्छ ।
चन्द्रमास गणनाअनुसार माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमीलाई मिथिलामा कृषि क्षेत्रको नयाँ वर्षको प्रारम्भ मान्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । मिथिला मुख्यतः कृषि कर्ममा आधारित क्षेत्र भएकाले यहाँका अधिकांश धार्मिक तथा सांस्कृतिक पर्व कृषिसँग गहिरो रूपमा जोडिएका छन् ।
मिथिला संस्कृतिविद् ध्रुव रायका अनुसार श्रीपञ्चमी किसानका लागि नववर्षको सुरुवात हो । “यसै दिन किसानले अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको वरण गर्छन्,” उनले भने, “हलोफाली पिट्ने, हँसिया उभार्ने तथा अन्य कृषि औजार मर्मत गर्ने लोहारसमेत यही दिन चयन गरिन्छ।”
श्रमिक र लोहार वरणको क्रममा किसानले वर्षभरि दिने पारिश्रमिकको टुङ्गो लगाएर दोसल्ला ओढाइ मिष्टान्न भोजन गराउने र दक्षिणा दिने परम्परा रहेको जानकारहरू बताउँछन् ।
यसै दिन किसानले खेत जोत्ने परम्परा पनि छ । खेत जोतेर वर्षभरि खेतीपाती अनुकूल रहोस् भन्ने कामना गर्ने चलन रहेको कृष्णचन्द्र झा बताउँछन् । मिथिलामा हलो, कुटो, कोदालोसहितका कृषि औजार धोइपखाली पूजा गर्ने परम्परा पनि छ । यसो गर्दा औजार टिकाउ र शुभ फलदायी हुने जनविश्वास छ ।
वसन्त ऋतु सुरु भएसँगै ठन्डी घट्ने र दिन लामो हुने भएकाले चैती फसल—गहुँ, चना, मुसुरो, रहरी र सस्र्यूँका लागि मौसम अनुकूल हुने किसानको विश्वास छ । यसै दिन बीउका लागि उन्नत दाना छान्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने चलन रहेको लक्ष्मीप्रसाद सिंह कुशवाहा बताउँछन् । शुद्धीकरण गरिएको बीउमा धूप–आरती देखाउने र गोबरको भकारो व्यवस्थापन गर्ने परम्परा पनि आजैदेखि सुरु हुने उनको भनाइ छ ।
तर पछिल्ला वर्षहरूमा कृषि श्रमिकको छनोट र वरणको परम्परा कमजोर बन्दै गएको गोविन्दलाल थारु बताउँछन् । युवा श्रमिक कामका लागि भारतका हरियाणा र पञ्जाबतर्फ जाने प्रवृत्ति बढ्नु, साथै तीनै तहका सरकारबाट वास्तविक किसानले अपेक्षित सुविधा नपाउनु परम्परा धान्न चुनौतीपूर्ण बन्दै गएको उनको अनुभव छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्