Skip to content

प्रथम राष्ट्रिय बाली प्रजनन्, अनुवंश तथा बीउ विज्ञान सम्मेलन सम्पन्न

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ । पहिलो राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन ललितपुरको खुमलटारमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले गएको माघ ६ गते उद्घाटन गर्नुभएको सम्मेलनमा ३२ वटा कार्यपत्र र ३६ वटा पोष्टरहरू प्रस्तुत गरिएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्कं अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन) को आयोजना एवम् जिन बैंक, लिबर्ड, अक्सफाम लगायतका संघसस्थाहरुको सहआयोजनामा सम्मेलन गरिएको हो ।
सम्मेलनले बाली प्रजनन्, अनुवंश र बीउबिजन क्षेत्रमा अहिलेसम्म भएका प्रगतिको समीक्षा गर्दै यो क्षेत्रमा अपनाउनुपर्ने नीतिहरूबारे आवश्यक दिशानिर्देश गरेको छ । सम्मेलनले पिबाग्शनको नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्य समितिको अध्यक्षमा डा. रेशमबाबु अम्गाईँ, उपाध्यक्षमा सुशीलराज सुवेदी, सचिवमा डा.उज्ज्वलकुमारसिंह कुशवाहा, कोषाध्यक्षमा डा. पल्लवीकुमारी सिंह, सदस्यहरूमा डा. शान्ता कार्की, डा. नबिन भुसाल, डा. बालकुमारी ओलिया, विष्णुप्रसाद कँडेल र कृष्ण ढकाललाई चयन गरेको छ ।
सम्मेलनमा उदीयमान प्रतिभा पुरस्कार कृषि तथा वन विश्वविद्यालका विद्यार्थी प्रशंसा पाण्डेलाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट सेवा पहिचान पुरस्कारबाट डा.उज्जवलकुमारसिंह कुशवाहा, कृष्ण ढकाल, उत्कृष्ट विद्यार्थी मौखिक प्रस्तुति पुरस्कार प्रजिता देवकोटा, उत्कृष्ट विद्यार्थी पोष्टर प्रस्तुति पुरस्कार आस्था ढकालले प्राप्त गर्नुभएको छ ।
तीन दिने सम्मेलनमा बाली प्रजनन् क्षेत्रका अग्रज भरत अधिकारी र ‘नेपाली लोकगीतमा कृषि–जैविक विविधताका प्रतिबिम्ब’ विषयक विशिष्ट खोज अनुसन्धान गरेबापत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायलाई विशेष सम्मान गरिएको थियो । पिबाग्शनका निवर्तमान अध्यक्ष डा.बालकृष्ण जोशीले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवादसहित नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार