काठमाडौँ । रौतहटस्थित गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि सुरु भएको यो मेला आगामी दुई महिनासम्म सञ्चालन हुनेछ ।
मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित विभिन्न फलामका सामग्री बिक्रीका लागि राखिएका छन् । विसं २०६५ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष सञ्चालन हुँदै आएको छ ।
नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माका अनुसार ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै गएको छ ।
मेलामा पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोगका प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायत फलामका सामग्री पनि बिक्रीका लागि राखिएका छन् ।
रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायी मेलामा सहभागी भएका छन् भने व्यवसायी आउने क्रम अझै जारी रहेको अध्यक्ष शर्माले बताए ।
मेलामा नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारी घरायसी प्रयोग र पुनः बिक्रीका लागि फर्निचर खरिद गर्न आउने गरेका छन् ।
अध्यक्ष शर्माका अनुसार जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तो दरमा फर्निचर उपलब्ध हुन्छ । स्थानीय काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने उनको भनाइ छ ।
विशेषगरी विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्नेहरू, सस्तो र गुणस्तरीय सामग्री खोज्ने उपभोक्ताको पहिलो रोजाइका रूपमा यो मेला स्थापित हुँदै गएको छ ।
मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको जानकारी दिइएको छ ।
यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको आयोजकको दाबी छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्