काठमाडौं । सेयर बजारमा सोमबार सामान्य ‘करेक्सन’ देखिएको छ । आइतबार उच्च अंकले बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ३.०७ अंकले घटेर २७६९.०९ अंकमा बन्द भएको छ । बजार सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकमले भने बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ ।
देशभर चुनावी माहोल बढ्दै जाँदा सेयर बजार पनि क्रमशः सुधारको बाटोमा देखिएको छ । यसै क्रममा सोमबार लगानीकर्ता पुनः बजार फर्किँदा कुल कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ । नेप्सेमा ३ सय ३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर १ लाख ४७ हजार ६ सय ७६ कारोबारमार्फत किनबेच भएको छ, जुन आइतबारको तुलनामा करिब साढे २ अर्ब रुपैयाँले बढी हो ।
कारोबार सुरु हुँदा नेप्से २७७२.१७ अंकमा रहेको थियो । दिनभर घटबढ हुँदै अन्ततः सूचक सामान्य अंकले ओरालो लागेको हो । सोमबार १ सय ६५ कम्पनीको सेयर मूल्य घट्दा समग्र बजार सूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ ।
समूहगत रूपमा हेर्दा बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समूह घटेका छन् । बैंकिङ समूह २.३६ अंक, विकास बैंक ३.७८ अंक र वित्त समूह १२.१४ अंकले घटेका छन् । त्यसैगरी जीवन बीमा ७१.४६ र लघुवित्त २५.५४ अंकले ओरालो लागेको छ ।
तर होटल तथा पर्यटन, जलविद्युत्, उत्पादनमूलक र सामूहिक लगानी कोष समूह भने बढेका छन् । होटल समूह १२७.६८ अंक र उत्पादनमूलक समूह ३८.९४ अंकले बढे पनि त्यसको प्रभाव समग्र बजारमा सीमित रह्यो ।
व्यक्तिगत कम्पनीतर्फ हेर्दा सोमबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । एसवाई प्यानल, हिमस्टार, सान्भी पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजार सूचकमा देखिएको सामान्य करेक्सनका बाबजुद कारोबार रकममा भएको वृद्धि र लगानीकर्ताको सक्रियताले आगामी दिनमा सेयर बजारको गति सकारात्मक रहने अपेक्षा गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्