Skip to content

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौं । सुनसरी–१ का प्रतिनिधिसभा उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकाको राजनीतिक प्रयोग गरेको आरोप लगाउँदै धरान नगर बाल सञ्जालले उजुरी दर्ता गराएको हो ।

धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरी र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको जनाएको छ । उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ । तर उम्मेदवार साम्पाङले सो व्यवस्था उल्लंघन गर्दै बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराएको आरोप लगाइएको छ ।

सञ्जालले उजुरीमार्फत साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यस विषयमा छलफल गर्न, साथै आचारसंहिता उल्लंघन गरेको खण्डमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । बालबालिकाको अधिकार संरक्षण गर्न राजनीतिक दल र उम्मेदवारले जिम्मेवार व्यवहार गर्नुपर्ने सञ्जालको जोड छ ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले उजुरी परेपछि प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन गरिएको जानकारी दिए । समितिले उजुरीको अध्ययन, प्रमाण संकलन र आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

बालबालिका ऐनअनुसार बालबालिकाको राजनीतिक प्रयोग गरेको प्रमाणित भए उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने र गम्भीर अवस्थामा उम्मेदवारी नै खारेज हुने व्यवस्था रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको गतिविधिमाथि निगरानी बढाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार