Skip to content

खाने तेल भारत पठाउँदा नेपालमा अभाव, चामलको मूल्य पनि बढ्यो

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । चुनावको मुखमा बजारमा खाने तेल र चामलको मूल्य बढ्न थालेको छ । खाने तेलमा प्रतिकार्टुन ५०० रुपैयाँसम्म र चामलमा प्रतिबोरा १०० रुपैयाँसम्म मूल्यवृद्धि भएको गुनासो आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

अस्वाभाविक मूल्यवृद्धिको गुनासो बढेपछि विभागले बजार अनुगमन सुरु गरेको छ । विभागका अनुसार खाने तेलमा तोकिएको अधिकतम खुद्रा मूल्य (एमआरपी)भित्रै बिक्री भइरहेकाले कानुनी कारबाही गर्न कठिन भए पनि व्यवहारिक रूपमा मूल्य बढेको देखिएको छ । ‘फ्याक्ट्रीबाटै मूल्य बढेर आएको पाइएको छ,’ विभागका एक अधिकारीले बताए ।

विभागको प्रारम्भिक अनुगमनअनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा खाने तेलको मूल्य बढ्नु, दैनिक मूल्य निर्धारण गर्ने प्रवृत्ति र भारततर्फ निर्यात बढ्नु मूल्यवृद्धिका प्रमुख कारण हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ३ हजार रुपैयाँले बढेको दाबी गरिएको छ । स्टकमा पुरानो तेल भए पनि अन्तर्राष्ट्रिय मूल्य बढ्नासाथ बजार भाउ बढाउने प्रवृत्ति देखिएको विभागले जनाएको छ ।

मूल्यवृद्धिसँगै बजारमा खाने तेलको अभावसमेत देखिन थालेको छ । पछिल्ला ३–४ दिनयता उद्योगबाट बजारमा आपूर्ति सहज नभएको विभागका अधिकारी बताउँछन् ।

उद्योगीहरूका अनुसार भारतमा चिसो मौसम र नजिकिँदै गरेको होली पर्वका कारण तेलको माग बढेको छ । साथै नेपालमा अधिकांश कारोबार उधारोमा हुने तर भारतमा नगद कारोबार सहज भएकाले व्यवसायीहरू निर्याततर्फ आकर्षित भएका छन् ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा ५७ अर्ब ४३ करोड रुपैयाँ बराबरको भटमास (सोयाबिन) तेल आयात भएको छ । त्यसमध्ये ५६ अर्ब ८ करोड रुपैयाँ बराबरको तेल भारतमा निर्यात भएको देखिन्छ ।

यता, चामलको मूल्य पनि बढ्न थालेको छ । व्यवसायीहरूका अनुसार भारतबाट तेस्रो मुलुकमा चामल निर्यात बढेपछि नेपाली बजारमा असर परेको हो । उद्योगी विभोग अग्रवालका अनुसार मोटो र मसिनो दुवै प्रकारका चामलमा प्रतिबोरा औसत १०० रुपैयाँले मूल्य बढेको छ ।

नेपाल चामलमा आत्मनिर्भर नभएकाले भारतमा हुने सानो बजार उतारचढावले पनि नेपाली भान्सामा प्रत्यक्ष असर पर्ने व्यवसायीहरूको विश्लेषण छ । भारतले बङ्गलादेशमा ठूलो परिमाणमा चामल निर्यात गर्ने सम्झौतापछि भारतीय बजारमै धानको मूल्य बढेको र त्यसको असर नेपालमा परेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार