काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुँदैछ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार पूर्वमन्त्री बस्नेतले कुनै पर्याप्त अध्ययन नगरी आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदसम्बन्धी निर्णय गराएका थिए । बजेट तथा कार्यक्रम स्वीकृतिका क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उक्त प्रणाली खरिद गर्ने निर्णय गरिएको आरोप छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स लागू गर्न खोजेको आरोप लगाइएको छ । खरिद निर्णय हुनुअघि गरिएको अध्ययनले कानुन बनेपछि मात्र नागरिकको कल आदान–प्रदान तथा डेटा खपत अनुगमन गर्न सकिने राय दिएको थियो ।
तर, सो रायविपरीत झाले २१ माघ २०७३ मा टेरामक्स खरिदको निर्णय गराएको अख्तियारको आरोप छ । वार्षिक बजेट एकपटक मात्रै पेस गर्नुपर्ने भए पनि पटक–पटक बोर्डमा प्रस्ताव लगेर दबाब दिई बदनियतपूर्ण निर्णय गराएको आरोप लगाइएको छ ।
अख्तियारले प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । ज्ञवाली कानुन मन्त्रालयको सहसचिव हुँदा प्राधिकरणको बोर्डमा प्रतिनिधिका रूपमा सहभागी थिए ।
सर्वोच्च अदालतले २०७३ माघमा अदालतको अनुमतिविना व्यक्तिको कल डिटेल रेकर्ड (सीडीआर)मा अनुसन्धान गर्ने निकायको पहुँच नदिन निर्देशनात्मक आदेश जारी गरिसकेको अवस्थामा त्यसको उल्लङ्घन हुने गरी निर्णयमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।
ज्ञवालीले अख्तियारमा दिएको बयानमा आफूलाई प्राधिकरणका अध्यक्षले दबाब दिएको बताएका थिए । उप्रेतीले पनि यस्तै बयान दिए पनि त्यो विश्वासयोग्य नदेखिएको अख्तियारको आरोप छ । दुई विज्ञ अनुपस्थित हुँदासमेत निर्णय लिइएको भन्दै अख्तियारले पूर्वमन्त्री बस्नेतसहित प्राधिकरणका पदाधिकारीहरूबीच मिलेमतो भएको दाबी गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्