Skip to content

‘निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्’: महानिरीक्षक अर्याल

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमजोरी नहोस् भनी सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आम नागरिकलाई पूर्ण सुरक्षाको अनुभूति दिलाउने गरी प्रभावकारी रूपमा परिचालित हुनुपर्नेमा जोड दिए ।

महानिरीक्षक अर्यालले निर्वाचन लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन उच्च व्यावसायिकता र मनोबलका साथ काम गर्न निर्देशन दिए । कमजोर कमाण्ड तथा लापरबाही गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने चेतावनी पनि उनले दिए ।

उनले कमाण्डको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी अधिकृतले पदीय मर्यादाभित्र रही काम गर्नुपर्ने स्पष्ट पार्दै कार्यक्षेत्रमा बदमासी वा अनुशासनहीनता भए तत्काल कारबाही गरिने बताए । साथै निर्वाचन सफल बनाउन मातहतका कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै परिचालन गर्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले सङ्गठनले लिएको नीति र सोचअनुसार सबै सशस्त्र प्रहरी कर्मचारी आ–आफ्नो जिम्मेवारीमा थप सक्रिय भएर परिचालित हुनुपर्ने उल्लेख गरे । उनले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उपायमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।

सीमामा खटिएका इकाइहरूलाई अझ सक्रिय भई गस्ती, पेट्रोलिङ तथा अपरेशनल गतिविधि सुदृढ गर्न निर्देशन दिँदै उनले आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार