काठमाडौँ । ओखलढुंगामा एक दम्पतीको हत्या भएको अवस्थामा शव फेला परेको छ । मंगलबार बिहान करिब साढे ७ बजे चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा दम्पतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरीका अनुसार मृतक करिब ८० वर्षीय चन्द्रबिक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिक्रमबहादुर भट्टराईले प्रारम्भिक अनुसन्धानमा लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको आशंका देखिएको बताए ।
‘घरमा किराना पसल सञ्चालन हुँदै आएको रहेछ । पसलमा पैसा राख्ने ठाउँ फुटाइएको छ, लुटपाटकै लागि घटना भएको देखिन्छ,’ प्रहरी निरीक्षक भट्टराईले भने । उनका अनुसार दम्पती घरमा मात्रै बस्दै आएका थिए ।
यसअघि पनि ओखलढुंगामा यस्तै प्रकृतिका हत्या भएका घटनाहरू सार्वजनिक भइसकेका छन् । ‘पहिले भएका घटनासँग मिल्दोजुल्दो देखिन्छ,’ भट्टराईले भने, ‘घटनाबारे गहन अनुसन्धान भइरहेको छ । तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको छ ।’
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ओखलढुंगामा लुटपाट तथा हत्यामा संलग्न गिरोह भन्दै चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिसाङ्ग गाउँपालिका–३ का २८ वर्षीय मिलन भन्ने संगम राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका थिए ।
उक्त समूहले २०८२ पुस १५ गते चिशंखुगढी गाउँपालिका–६ कै ६० वर्षीय शोभितमान थापा र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको धारिलो हतियार प्रहार गरी हत्या गरी करिब १ लाख रुपैयाँ नगद तथा गहना लुटेको आरोप लागेको थियो । यसअघि २०८२ असोज २६ गते सिद्धिचरण नगरपालिका–४ की ५२ वर्षीया रत्नकुमारी कटवालको पनि बञ्चरो प्रहार गरी हत्या गरी नगद तथा गहना लुटेको अभियोग उनीहरूमाथि छ ।
प्रहरीले उक्त गिरोहबाट हत्या प्रयोजनमा प्रयोग गरिएको बञ्चरो, खुकुरी, गहना गालेर बनाइएको औंठी, बन्दुक, कोदालो र मोबाइललगायत सामग्री बरामद गरेको थियो ।
तर गिरोह पक्राउ परिसकेको दाबी गरिएपछि पनि पुनः अर्को दम्पतीको हत्या भएको घटना बाहिर आएपछि यो घटना थप रहस्यमय बनेको छ । ‘त्यतिबेला प्रमाणसहित गिरोह समातेका थियौँ,’ प्रहरी निरीक्षक भट्टराईले भने, ‘अहिलेको घटना र अघिल्ला घटनाबीच सम्बन्ध छ वा छैन भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुनेछ ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्