देशभर अहिले चुनावी माहोल छ। दल र उम्मेदवारहरु आआफ्नो रणनीति बनाउन व्यस्त छन्। आज १८ वर्ष पुगेकी भक्तपुरकी एकता साहलाई भने यस्ता कुराले छोएको छैन। भलै उनी जस्तै युवाले गर्दा आज ती व्यक्ति र दलले चुनावी तयारीमा जुट्ने अवसर पाएका हुन्।१२ कक्षा पढेर चिकित्सक बन्ने सपनामा अघि बढेको एकताको भाद्र २३ गते बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो। अहिले उनी अलिअलि हिड्न सक्छिन् तर उनको खुट्टा सन्चो हुने नहुने यकिन छैन। अझै उनको खुट्टाको अपरेसन बाँकी छ।
गोली लागेर घाइते भएकी एकतालाई भेट्न न त कुनै जेनजी अगुवा भन्ने पुगेका छन् न त प्रधानमन्त्री, सांसद बन्ने रेसमा रहेका नेता नै गएका छन्। सबैको एजेन्डा देश बनाउने छ। तर जसले देश साँच्चिकै बन्नुपर्छ भन्दा गोली खाइन् उनलाई कसैले सोध्न आएको छैन – तिम्रो स्वास्थ्य कस्तो छ ?
अब त टुपी कसेर पढ्ने हो – आइ लभ स्टडी –आइ क्यान डु दिस,’ एकता साहको कोठाभरी यस्तै सन्देश टाँसिएका छन्। पढ्न निकै रुचाउने उनले हातैले विभिन्न चित्रसहित शब्द कोरेर कोठा सजाएकी हुन्। तर, यही स्टडी रुममा एकता नपुगेको करिब ५ महिना हुन लाग्यो।
कोठामा एकताका किताबहरु छरप्रष्ट छन्। भित्तामा गणितका फर्मुला र विज्ञानका महत्वपूर्ण कुरा स्टीकी नोटमा लेखेर टाँसिएको छ। विद्यार्थी हुँदा उनी जहिलै अब्बल। किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उनको मन लाग्ने। त्यसैले कोठाभरी उनले पाएका पुरस्कार सजिएको छ। कोठामै झुण्डिएको छ उनी पढेको सैनिक आवासीय महाविद्यालयको क्यालेन्डर पनि। कक्षा १२ उत्तिर्ण भएर उनले ए प्लास ल्याएकी थिइन्। सोही क्यालेन्डरमा उनले त्यही पल सम्झिएर लेखेकी थिइन् – थ्यांक यु युनिभर्स१
अस्पतालको लामो बसाई पछि खुट्टामा चोट लिएर घर पुगे पनि उनमा छुट्टै आत्मविश्वास देखिन्छ अहिले पनि। त्यसैले त हिँड्न नसक्ने अवस्थामा पनि उनले मनोबल बढाइन्, चिकित्सक बन्न पार गर्नुपर्ने सीईई परीक्षामा सहभागी भइन् र नामसमेत निकालिन्।आमा बुनु शाहीले विज्ञान विषयका पुस्तक र नोट छोरीको खाटसँगै राखिदिएकी छन्। तर, एकतालाई अब पहिला झैं ति किताबमा मन छैन।
एकतालाई लाग्दो हो, ‘खै यो खुट्टा ठिक हुने हो कि होइन।’ यस्तै प्रश्नले होला सायद एकताले तय गरेको शैक्षिक शिखर हासिल गर्न उनलाई अप्ठेरो लागिरहेको छ। तर, आमा बुनु भने छोरीको हिम्मत बनेर बसिरहेकी छन्। तत्कालिन सरकारले केही सामाजिक संजालमाथि प्रतिबन्ध लगाएसँगै सूचनाको सहारा बनेको थियो टिकटक। त्यही टिकटकमा भाद्र २३ गते बानेश्वरमा भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने सूचना फैलियो। टिकटकभर नेपोबेबी ट्रेन्ड थियो। तिनै भिडियोले एकतालाई पनि बानेश्वरमा हुने प्रदर्शनमा जाउँ जाउँ बनायो।
भाद्र २३ गते बिहानै एकता कलेज ड्रेस लगाएर तयार भइन्। घरमै भएको हेल्मेट लगाइन् र पानीको बोटल बोकिन्। बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्