Skip to content

रसुवा भन्सार कार्यालयद्वारा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन

कालोपाटी

२४ घण्टा अगाडि

काठमाडौँ । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १ अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण गरिरहेको छ।

७४ औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिएका थिए। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार कर्मचारीलाई पनि सम्मान गरिएको थियो। व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा रु ३ अर्ब २१ करोड राजस्व बुझाउने सिजी मोटर सप्लायर्स र रु ७४ करोडबराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौँ सम्मानित भए।

कार्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी, स्थानीय प्रतिनिधि, भन्सार एजेण्ट संघ र व्यापार सङ्घका प्रतिनिधिहरूले नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा उच्च बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

यसैबीच, रसुवागढी नाकाको सडक सुधारमा चीनको सहयोगले पहिलो चरणमा असहज मोडहरू सिधा गर्ने काम भइरहेको र रसुवागढी जलविद्युत् केन्द्रले पनि सडक सञ्चालनमा महत्वपूर्ण योगदान गरेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार