काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ ।
प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए । ‘जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ,’ उनले भने ।
उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए ।
‘पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागू गरिएको छ’ उनले भने, ‘साथै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइसकिएको छ ।’
कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उनले जानकारी दिए । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उनको भनाइ छ ।
प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे । ‘महाधिवेशनमा सहभागी नहुनेहरू समेत पार्टी गतिविधिमा जोडिन थालेका छन्,’ उनले भने, ‘अन्य दलका नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ ।’
कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको प्रवक्ता चालिसेको भनाइ छ ।
कालोपाटी
१२ घण्टा अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्