Skip to content

छ महिनामा बाँकेको खजुरा गाउँपालिकामा ५२ नयाँ क्षयरोगी फेला

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौँ । बाँके जिल्लाको खजुरा गाउँपालिका क्षयरोगको उच्च जोखिममा रहेको पाइएको छ। गाउँपालिकामा पछिल्लो छ महिनामा ५२ जना नयाँ क्षयरोगी फेला परेको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीका अनुसार वडा नम्बर ८ मा सबैभन्दा बढी १४ जना क्षयरोगी भेटिएका छन् भने वडा नम्बर १ र ६ मा क्षयरोगी शून्य छन्। अन्य वडाहरूमा २–७ जना क्षयरोगी फेला परेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले क्षयरोग अत्यन्तै सरुवा रोग भएकोले समयमै पहिचान र उपचार आवश्यक रहेको बताउनुभयो। एक जना क्षयरोगीबाट १०–१५ जनासम्ममा संक्रमण फैलन सक्ने भएकाले समुदायस्तरमै सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य शाखाले लामो समय खोकी लागेमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाँच गर्न, औषधि नियमित सेवन गर्न, उपचार अधुरो नछाड्न तथा भीडभाडमा मास्क प्रयोग गर्ने, हावा–प्रवाह मिलाउने र पोषणयुक्त खाना खाने सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार