Skip to content

इरानमाथि हमला गरे क्षेत्रीय युद्ध हुने खामेनीको चेतावनी

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । इरानका सर्वोच्च नेता अली खामेनीले अमेरिकालाई कडा चेतावनी दिँदै भनेका छन्, यदि इरानमाथि आक्रमण भयो भने त्यसले “क्षेत्रीय युद्ध” निम्त्याउनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिती बढाइरहेका बेला ८६ वर्षीय खामेनीले तेहरानमा आयोजित एक कार्यक्रममा यो चेतावनी दिएका हुन्।

खामेनीले सन् १९७९ मा आयतल्लाह रुहोल्लाह खोमेनीको निर्वासनबाट फर्किएको ऐतिहासिक दिनको सम्झनामा आयोजित सभालाई सम्बोधन गर्दै अमेरिकाले इरानको तेल र प्राकृतिक ग्यास स्रोत कब्जा गर्न खोजेको आरोप लगाए। उनले इरानमा हालै भएका सरकारविरोधी प्रदर्शनहरूलाई ‘कू’ प्रयास र ‘राजद्रोह’को संज्ञा दिएका छन्। प्रदर्शनकारीहरूले बैंक, मस्जिद र सरकारी कार्यालयमा आक्रमण गरी देशलाई अस्थिर बनाउन खोजेको उनको दाबी छ।

यसको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “हामी इरानसँग सम्झौता हुने आशा राख्छौं। यदि सम्झौता भएन भने खामेनीको चेतावनी कति सही थियो भन्ने कुरा पछि थाहा हुनेछ।”

इरानमा डिसेम्बर २८ देखि सुरु भएको सरकारविरोधी आन्दोलनमा हजारौं नागरिक मारिएको संयुक्त राष्ट्रसंघ र मानवअधिकार समूहहरूले जनाएका छन्। केही प्रतिवेदनले मृत्युको संख्या २० हजार नाघ्न सक्ने अनुमान गरेको छ भने अन्य अधिकारवादी संस्थाले ६ हजार ७ सयभन्दा बढी मृत्यु भएको दाबी गरेका छन्।

इरानी अधिकारीहरूले भने यी घटनामा अमेरिका र इजरायलद्वारा पोषित ‘आतङ्ककारी’ जिम्मेवार रहेको बताउँदै आएका छन्। इरानी सञ्चारमाध्यमले हालसम्म ३ हजार १ सय १७ जनाको मृत्यु भएको उल्लेख गरेका छन्। राष्ट्रपति मसुद पेजेस्कियानले मृतकको वास्तविक विवरण सार्वजनिक गर्ने आश्वासन दिएका भए पनि कुनै निश्चित समयतालिका अहिलेसम्म उपलब्ध छैन।

आम इरानी नागरिकहरूले सरकारको दाबीप्रति अविश्वास प्रकट गर्दै देश शोकमा रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार