काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् ।
बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले सपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् । उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न किसिमका विचलनहरू देखापरेको र त्यसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको उल्लेख गरिन् ।
“मानसिक स्वास्थ्यलाई मैले सपथ ग्रहणकै दिनदेखि प्राथमिकतामा राखेको थिएँ । देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसले समाजमा अनेक प्रकारका समस्याहरू जन्माएको छ, जसको प्रत्यक्ष असर मानसिक स्वास्थ्यमा देखिएको छ,” मन्त्री शर्माले भनिन् ।
उनले विभिन्न अस्पतालहरूको निरीक्षणका क्रममा आफूले अनुमान गरेभन्दा धेरै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरू देखिएको बताइन् । महिला, पुरुष, किशोरी तथा बालबालिकासमेत मानसिक समस्याका कारण अस्पतालका बेडमा भर्ना हुनुपरेको र ओपिडीमा पनि बिरामीको उल्लेख्य भीड रहेको उनको भनाइ छ ।
मन्त्री शर्माले मानसिक स्वास्थ्य क्षेत्रले लामो समयदेखि अपेक्षित प्राथमिकता नपाएको स्पष्ट भएको उल्लेख गर्दै यस क्षेत्रलाई अब उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । उनले आगामी सरकारले पनि मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिएर प्रभावकारी कार्यक्रम अघि बढाउन आग्रह गरिन् ।
“मानसिक स्वास्थ्य धेरै वर्षसम्म जति प्राथमिकतामा पर्नुपर्ने हो, त्यति पर्न सकेको छैन । अब आउने सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर ठोस कार्यक्रम अघि बढाओस्,” उनले भनिन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्