Skip to content

स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा राज्यमा ठूलो आर्थिक भार परेको बताएकी छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री गौतमले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको र बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको जानकारी दिइन्।

मन्त्री गौतमले भनिन्, “सरकारले रुखबाट पैसा ल्याउँदैन, नागरिकले करमार्फतै स्वास्थ्य सेवाको भुक्तानी गर्छन्। बजेटको परिधिभित्र रहेर मात्र खर्च गर्नुपर्छ। स्रोत सुनिश्चित नगरी जति मन लाग्यो त्यति सेवा दिँदा प्रणालीमा समस्या आएको छ।”

उनले थपे, “अब बीमा बोर्डले स्रोत सुनिश्चित नगरी र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्नु हुँदैन। यस आ.व.को सुरुमै १० अर्ब खर्च भइसकेको छ। वार्षिक बजेटको सीमा बाहिर गएर खर्च गर्नु गलत हो।”

मन्त्री गौतमले संविधानले निःशुल्क स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको रूपमा सुनिश्चित गरेको र यसको कार्यान्वयनको जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै, बीमा बोर्डलाई वित्तीय अनुशासन र स्रोतको उचित बाँडफाँड सुनिश्चित गर्न आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार