Skip to content

‘समृद्ध नेपाल, सुखी नेपाली’ वेदले भनेको कुरा हाे’ : ओली

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित रहेको बताउनुभएको छ ।

धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास बोकेको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वमै अग्रणी रहेको दाबी गर्नुभयो । उहाँले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने वैदिक मन्त्रलाई आधुनिक युगमा समृद्धिको आधारका रूपमा अघि सारिएको उल्लेख गर्नुभयो ।

साथै अध्यक्ष ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’बीचको भिन्नता प्रस्ट्याउँदै सनातन परम्परालाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गर्नुभयो । ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको भन्दै उहाँले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पत्ति भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले चिकित्सा विज्ञान अर्थात् सर्जरीको सुरुवात नेपालकै भूमिबाट भएको दाबी गर्दै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गर्नुभयो । नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ का रूपमा उल्लेख गर्दै हराउँदै गएको राष्ट्रिय गौरव पुनःस्थापना गर्ने संकल्प रहेको बताउनुभयो ।

कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताप्रति आफू सचेत रहेको र चुनाव प्रचारका लागि नभई देश निर्माणको संकल्प दोहो¥याउन कार्यक्रममा सहभागी भएको स्पष्ट पार्नुभयो । आचारसंहिताका कारण आफूले चाहेर पनि धार्मिक कार्यक्रममा दान गर्न नमिल्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार