Skip to content

ओली सरकारले पेश गरेको सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

कालोपाटी

१० मिनेट अगाडि

काठमाडौँ । ओली सरकारले पेश गरेको ‘सामाजिक सञ्जाल विधेयक २०८१’ राष्ट्रियसभाबाट फिर्ता भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकले विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यसअघि माघ २३ गते प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री अनिल सिन्हाले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो।

गत वर्ष माघ २७ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएको थियो। तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण र प्रभावकारी नियमनका लागि कानुनी आधार तयार गर्ने उद्देश्यसहित विधेयक अघि बढाएका थिए।

विधेयकमा सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन कायम राख्ने व्यवस्था, हेट स्पिच, गालीबेइज्जती, ट्रोल, मिथ्या तथा भ्रामक सूचना दुष्प्रचार रोक्ने प्रावधान तथा जरिवाना र जेल सजायको व्यवस्था समेटिएको थियो।

यसै बैठकले पर्यटन विधेयक २०८१ पारित गरेको छ। साथै, राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पनि पारित गरिएको छ। राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते बुधबार बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार